नियमित तालिम र सैन्य अभ्यासमा रहेको नेपाली सेनाको स्पष्टोक्ति
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीविरुद्ध सेना परिचालन भएको भन्ने समाचारहरु सार्वजनिक भएको भन्दै नेपाली सेनाले त्यसको खण्डन गरेको छ । आधिकारीक श्रोत नभई गोप्य श्रोतको हवाला दिदैं नेपाली सेनाले विज्ञप्ति मार्फत् त्यस्ता समाचारको खण्डन गरेको हो । नेपाली सेनाले विहीबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि आइरहेका टीकाटिप्पणीहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली सेना अहिले पूर्वनिर्धारित तालिम, सैन्य अभ्यास र स्वास्थ्य शिविरमा केन्द्रित रहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्व्निर्धा्रित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेना आग्रह गर्दछ ।’
नेपाली सेनाले अगाडि भनेको छ, ‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँदछौँ ।’

