गण्डकी मेडिकल कलेजले नियम विपरीत लिएको शुल्क फिर्ता गर्नुपर्ने

गण्डकी मेडिकल कलेज लगायत विभिन्न मेडिकल कलेजमा जथाभावी रूपमा लिइएको शुल्क फिर्ता हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच तोकिएकोभन्दा बढी शुल्क लिएको भए फिर्ता गर्ने सहमति भएको हो ।

जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गते अर्थात् शुक्रबार सम्ममा फाराम भर्न लगाउने र विद्यार्थी संगठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको हो ।

अनेरास्ववियुका सचिव आरसी लामिछानका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघका प्रतिनिधिबीच सिंहदरबारमा भएको वार्ता सहमति जुटेको छ ।

बढी शुल्क र विद्यार्थीलाई परीक्षा दिन वञ्चित गराइएको विषयमा बिहीबार मन्त्रालयमा वार्ता भएको थियो । सो विषयमा कारवाही नभएको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मङ्गलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए ।

गण्डकी र किष्ट मेडिकल कलेजमा आफूखुशी शुल्क असुल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीलाई मनोवैज्ञानिक त्रास दिई मुद्दा फिर्ता लिन दबाब दिएको विषय कानुनी कारवाहीको विषय भएकाले पीडित विद्यार्थीले मुद्दा फिर्ता नहुने एक विद्यार्थी नेताले जानकारी दिए । गण्डकी मेडिकल कलेजमा तोकिएको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु तालाबन्दी, अनसन, धर्ना प्रदर्शन लगायतका आन्दोलनमा सहभागी भएका थिए ।

यसैवीच चिकित्सा शिक्षा सुधारका लागि अभियान चलाइरहनुभएका डा. गोविन्द केसीले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेज सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गर्नुभएकाे छ ।

बिहीबार विज्ञप्ति जारी गरी केसीले कलेजहरुले विद्यार्थीलाई ब्ल्याकमेलिङ गरेर ठगी गरिरहेको भन्दै सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गर्नुभएकाे हाे । साथै उहाँले विज्ञप्तिमा विद्यार्थीसँग लिइएको अतिरिक्त शुल्क तत्काल ब्याजसहित फिर्ता गर्न र पठनपाठन सञ्चालन गर्नुपर्ने बताउनुभएकाे छ ।

Facebook Comments