युवाले राजनीतिक पार्टीमा स्थान पाउन कठिन

मुलधारको राजनीतिमा युवापुस्तालाई पन्छाउने काम हुने गरेको युवा नेताहरुले बताएका छन् । युवालाई कुनै सामान्य जिम्मेवारी दिएर थन्क्याउने र मूल नेतृत्वमा आउन नदिने प्रचलन व्याप्त रहेको कार्यक्रममा सहभागीहरुको भनाई थियो ।

पोखरामा शनिबार यूथथिंकर्स सोसाइटी, पोखराले आयोजना गरेको ‘नेपाली राजनीतिमा युवाको भुमीका र अवसर’ शीर्षकको अन्र्तक्रियामा बोल्दै युवा नेताहरुले यस्तो बताएका हुन् । अन्तरक्रियामा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन सँयोजक अब्दुस मियाँ, नयाँशक्ति पार्टीकी नेतृ मानुषी यमी भट्टराई र नेकपा सम्बद्ध विद्यार्थी नेतृ सरिता पुरी वक्ताका रुपमा रहेका थिए ।

सो अवसरमा विवेकशील साझा पार्टीकायुवा संगठन सँयोजक अब्दुस मियाँले युवाहरुलाई अगाडि बढ्नका लागि राज्यको नीति नै बाधक रहेको टिप्पणी गर्नुभयो । उहाँले राज्यले कुनै कार्यकारी पदका लागि उमेरको हदबन्दी तोक्नु नै युवापुस्ताको लागि बाधक भएको उल्लेख गर्नुभयो ।

चलचित्र, खेलकूद व्यवसाय लगायतका क्षेत्रमा युवा पुस्ताको आगमनले सफलता हाँसिल भएको उल्लेख गर्दैै मियाँले राजनीतिमा पनि युवा पुस्ताले नेतृत्वदायी भूमिका पाएमा सकारात्मक भूमिका निर्वाह गर्ने जिकीर गर्नुभयो ।

त्यस्तै नयाँशक्तिकी नेतृ मानुषीयमी भट्टराईले युवा उमेर समूहका महिलालाई राजनीतिमा अझै बढि समस्या रहेको बताउनुभयो । स्वयं आफू नै भुक्तभोगी रहेको भन्दै उहाँले युवा पुस्ताले मुलधारको राजनीतिमा आउनका लागि अझै सँघर्ष गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै अर्का प्यानलिस्ट नेकपा सम्बद्ध विद्यार्थी नेतृ सरिता पुरीले आफू सम्बद्ध पार्टी लोकतान्त्रिक भएपनि कतिपय सवालमा असन्तुष्टि पोख्दा स्पष्टीकरण दिनुपरेको अनुभव रहेको बताउनुभयो ।

नेतृत्वका लागि युवाले आवाज उठाउन आवश्यक रहेको पुरीको भनाई थियो । नेतृत्व विकासको सामाजिक सवालमा युवाहरु राजनीतिक आस्था भन्दा माथि उठ्न सक्नुपर्ने उहाँको धारणा थियो । प्यानलिस्टलाई यूथथिंकर्स सोसाइटी, पोखराकी अध्यक्ष सजुमा घिमिरेले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments