सरकार असफल, शान्ति सुरक्षाको अवस्था कमजोर : गच्छदार
काँग्रेसका नेता विजय गच्छदारले सबै राजनीतिक दलको सक्रियता र योगदानले गर्दा अहिलेको राजनीतिक अवस्था सम्भव भएको बताउनुभएको छ । अहिलेको राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने भन्दा पनि कमजोर बनाउनेतर्फ लागेको गच्छदारको भनाई छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्नेतर्फ सरकार लागिपरेको आरोप लगाउनुभयो । सरकार संसदप्रति उत्तरदायी नभएको उहाँको भनाई थियो । सरकार जनता र सदनप्रति जवाफदेही हुनुपर्नेमा त्यसो हुन नसकेको गच्छदारले आरोप लगाउनुभयो ।
सदनभित्र उठेका सवालहरुमा सरकारले जवाफ दिन नसकेको गच्छदारको भनाई थियो । निर्मला पन्त बलत्कारपछिको हत्या भएको घटना लामो समय वित्दासमेत पत्ता लाग्न नसक्नुले शान्ति सुरक्षाको अवस्थाको प्रष्ट पार्ने उहाँको तर्क थियो । प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिन अरुची देखाएको र आक्कल झुक्कल मात्र आउने गरेको गच्छदारको आरोप लगाउनुभयो ।
सभामुखले पटक पटक रुलिङ्ग, आदेश र निर्देशन दिंदा पनि सरकारका तर्फबाट पालना नभएको उहाँको भनाई रहेको छ । टिकापुर घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्ने सन्दर्भमा प्रधानमन्त्रीबाट गोलमटोल जवाफ आएको गच्छदारको टिप्पणी थियो ।
सदनभित्रका सबै राजनीतिक दलसँग समन्वय गरेर विधेयकहरु पारित गर्नुपर्ने जिम्मेवारी सरकारको रहेको गच्चदारको भनाई छ । विधेयक जर्वजस्ती पारित गर्ने कार्य सत्ता पक्षबाट हुनु अलोकतान्त्रिक भन्दै उहाँले जिम्मेवार भूमिकामा सरकार प्रस्तुत हुन नसकेको बताउनुभयो ।

