वार्ता र संवादबाटै समस्या समाधान हुन्छ : वरिष्ठ नेता नेपाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ता र संवादबाट समस्याको समाधान हुने बताउनुभयो ।

उहाँले लगानी सम्मेलनलाई प्रभावित बनाउन बम पड्काएर, धम्की दिएर तर्साउने काम भएकाले उक्त त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताउनुभयो । नेत्रविक्रम चन्द विप्लवले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरूको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुने नेता नेपालको तर्क थियो ।

वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको समेत उल्लेख बताउनुभयो । राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उहाँको भनाइ थियो । राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गर्नुभयो ।

मन्त्रीमण्डल फेरबदल गर्न सुझाव

मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने बताउनुभयो । अर्को प्रसङ्गमा पार्टीको बैठक बसेर निर्णय हुन नसकेका कारण नेताले आफ्ना गुनासो बाहिर पोख्नुपरेको बताउनुभयो । नेतृत्वले चाहेमा एक साताभित्र पार्टीको तल्लो तहसम्म एकता गर्न सकिने उहाँले बताउनुभयो ।

Facebook Comments