लुम्बिनीमा शान्ति र मेलमिलाप सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु
लुम्बिनीमा ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि शुरु भएको छ । नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त रुपमा आयोजना गरिएको सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्डस, इन्डोनेसिया, श्रीलङ्का, भारत र नेपाल लगायत १५ मुलुकका २४ जना विज्ञले कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले आयोजित सम्मेलनमा विभिन्न मुलुकले द्वन्द्व अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धको समाधानका उपाय लगायतका विषयमा छलफल हुनेछ । सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्ध धर्मको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रा ह्युग मियल, ‘श्रीलङ्कामा युद्धपछिको धार्मिक कट्टरता’का विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्मनिरपेक्षता र दिगो धार्मिक सहिष्णुता’का विषयमा डा योगी सिंहनाथ लगायतले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
त्यस्तै सहभोजले शान्ति स्थापनामा खेलेको भूमिका, नेपालको शान्ति र पुनर्मिलनलगायतका विषयमा पनि कार्यपत्र प्रस्तुत हुनेछ । बुधबार लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले जानकारी दिनुभयो । यसअघि सम्मेलनको उद्घाटन सत्रमा बोल्दै विज्ञले बुद्धका उपदेशलाई आत्मसात् गर्नसके संसारबाट सबैखालका द्वन्द्वहरूको अन्त्य गर्न सकिने बताएका थिए ।

