१६ औं फेवा नव बर्ष महोत्सव २०७६ हुने

नेपाली नयाँ बर्षको स्वागतमा १६ औं फेवा नव बर्ष महोत्सव २०७६ आगमि चैत २९ देखि बैशाख १ गतेसम्म हुने भएको छ । नेपाली संस्कृति, खाना र संगीतलाई विशेष जोड दिंदै पश्चिमाञ्चल होटल संघ पोखराले यस बर्ष पनि फेवा नव बर्ष महोत्सव आयोजना गर्ने भएको छ ।

गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन बर्ष २०१९ लाई केन्द्रमा राखी पोखराको कोमागाने पार्कमा यही चैत २९ देखि आगामी बैशाख १ गते सम्म तीन दिने महोत्सव आयोजना गर्न लागिएको महोत्सव संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्देश्य सहित हुन लागेको महोत्सवमा विशेष गरी देश विदेशमा प्रबद्र्धनका लागि छानिएका विभिन्न २५ खानाको प्रस्तुती र विक्रीवितरण हुने आयोजकले जानकारी दिएको छ ।

गण्डकी प्रदेशका विभिन्न चार वटा खानालाई यस बर्षको महोत्सवमा समावेश गर्न लागिएको संघका अध्यक्ष तुलाचनले जानकारी दिनुभयो । सेफ एशोसिएशनसँग मिलेर खानाको पक्षलाई महोत्सवमा विशेष जोड दिन लागिएको संघले जनाएको छ ।

नेपाली मौलिक संस्कृति र नेपाली खानालाई प्रबद्र्धन गर्दै महोत्सवले सहयोग गर्ने अपेक्षा राखिएको छ । महोत्सवमा आयोजना हुने झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ, दोश्रो हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र शान्त्वना स्वरुप १० हजार रुपैयाँ प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी आमा समूह विचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने छ । सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ । नृत्य प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ पाउने छन् । द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ व्यवस्था गरिएको संघका महासचिव एवं प्रचार प्रमुख गणेशराज पहारीले जानकारी दिए । डुंगा दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, आठ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

दिन–प्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । अहिले पोखराको होटलको अकुपेन्सीको ६० प्रतिशत नेपालीले धानेको र पोखरा क्षेत्रमा मात्र छ सय होटल संचालनमा रहेको अध्यक्ष तुलाचनले कार्यक्रममा जानकारी दिनुभयो ।

महोत्सव सम्पनन गर्न ६५ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । महोत्सव संचालन गर्न संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा विभिन्न २९ उपसमितिहरु गठन गरिएको छ । महोत्सवकै प्रचारका लागि संघले काठमाडौं, जनकपुर, चितवन, लुम्बिनी जस्ता शहरमा छिटै जाउँ है पोखरा अभियान संचालन गर्दै छ । होटल एशोसिएशन नेपाल र गण्डकी प्रदेश सरकारको सहयोग रहने महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गर्ने छ ।

Facebook Comments