पोखरा, चितवन र लुम्बिनी जोड्न सिल्भर ट्रयाङ्गलको प्रस्ताव
पोखरा, चितवन र लुम्बिनीलाई पर्यटकीय रुपमा जोड्दै आपसी लाभका लागि तीनै क्षेत्रका व्यवसायी सहकार्य गरेर अगाडि बढ्न जरुरी भएको हालै चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमका सहभागीले उल्लेख गरेका छन् ।
जाउँ है पोखरा अभियान लिएर काठमाडौं, जनकपुर हुँदै चितवन आइपुगेको पश्चिमाञ्चल होटल संघ पोखराको टोलीले आयोजना गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीले पोखरा, चितवन र लुम्बिनी जोड्ने सिल्भर ट्रयाङ्गलको चीरचर्चित अवधारणालाई मुर्त रुप दिनुको विकल्प नभएको बताएका हुन् ।
प्राकृतिक रुपमा धनी पोखरा, सफारीका लागि प्रख्यात चितवनको सौराह र धार्मिक रुपमा प्रख्यात लुम्बिनी क्षेत्रका व्यवसायी विच पर्यटक आदानप्रदान तथा प्रबद्र्धनका काम संयुक्त रुपमा अगाडि बढाउन सकिने भनाई व्यवसायीले कार्यक्रममा राखेका थिए ।
सो अवसरमा बोल्दै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटनमा लाभको वितरण र सहकार्य धेरै महत्वपूर्ण पक्षहरु भएको बताउँदै गण्डकी प्रदेशले मनाउँदै गरेको आन्तरिक पर्यटन बर्ष २०१९ कार्यक्रमलाई सफल पार्न समेत सिल्भर ट्रयाङ्गलको अवधारणा सहयोगी हुन सक्ने बताउनुभयो । पोखराको फेवा ताल किनारमा यही चैत २९ देखि आगामी बैशाख २ गते सम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि समेत उनले चितवनबासीलाई आग्रह समेत गर्नुभयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले तीन शहर जोड्ने प्रस्ताव निकै सकारात्मक भएको उल्लेख गर्नुभयो । उहाँले छिमेकी देश भारतका सीमा क्षेत्रका ३० करोड मध्ये एक प्रतिशत भारतीय पर्यटक नेपाल भित्र्याउन सक्ने हो भने यसले नेपालको पर्यटनमा ठूलो परिवर्तन ल्याउने सकिने बताउनुभयो ।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले पर्यटन क्षेत्र विश्व भरिनै बढी लगानी भएको क्षेत्र भएको स्मरण गराउँदै यसले अर्थतन्त्रमा ठूलो योगदान दिने गरेको उल्लेख गर्नुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछानेले पोखरामा संचालित सहासिक प्याराग्लाइडिङलाई व्यवस्थित र सुरक्षित बनाउन पहल भइरहेको जानकारी गराउँदै नेपाल हवाई खेलकूद संस्थालाई हालै यसको जिम्मा प्रदान गरिएको स्मरण गराउनुभयो ।
विभिन्न प्रबद्र्धनका काम र अभियानमा बोर्डले व्यवसायीहरुसँग सहकार्य गरेर अगाडि बढिरहेको जानकारी पनि लामिछानेको भनाई थियो । चितवन पर्यटन विकास समितिका अध्यक्ष बद्रि अधिकारीले जाउँ है पोखरा जस्तै आन्तरिक पर्यटन प्रबद्र्धनको अभियानलाई देशव्यापी बनाउनुपर्ने बताउनुभयो ।
क्षेत्रीय होटल संघ चितनवका अध्यक्ष सुमन घिमिरेले सौराह क्षेत्रले पर्यटनको ठूलो संभावना बोकेको स्मरण गराउँदै उक्त क्षेत्रमा सफारी बाहेकका नयाँ पर्यटकीय स्वाद सिर्जना गर्ने तर्फ पनि आफूहरुले विचार गरिरहेको बताउनुभयो ।
पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरालाई आफूहरुले उत्सव र महोत्सवको शहरको रुपमा विकास गर्न लागेको जानकारी गराउँदै विनासकारी भुकम्प जाँदा पनि पोखराको पर्यटन आन्तरिक पर्यटकले नै धानेको स्मरण गर्नुभयो ।
सिल्भर ट्रयाङ्गलको अवधारणालाई व्यवहारमा उतार्न जरुरी भएको भन्दै उहाँले नेपालीमा घुम्ने बानीको विकास गराउने अभियानमा अहिले आफूहरु रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले व्यवसायीका सबै सकारात्मक अभियानमा संघको सहयोग रहने बताउनुभयो ।
होटल संघ नेपाल र गण्डकी प्रदेश सरकारले जाउँ है पोखरा अभियानलाई सघाईरहेका छन् । अभियानको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ । चितवनमा आयोजित कार्यक्रमको संचालन पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले गरेका गर्नुभएको थियो ।

