प्रदेशसभा सदस्य थापाको सम्पूर्ण सूविधा सामाजिक काममा

नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्च गरेकाे जानकारी दिनुभएकाे छ ।

पाेखरामा पत्रकार सम्मेलन गरी थापाले विसं २०७४ माघ महीनादेखि २०७५ माघसम्म आफ्नो खातामा प्रदेशसभाबाट आएको जम्मा रु सात लाख नौ हजार १३५ सहित सामाजिक काममा रु १० लाख ५४ हजार ६५५ खर्चेको जानकारी दिनुभयाे ।

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न विद्यालय, क्लब, मठमन्दिर, बाजा समूह, टोल विकास संस्था आदिमा आफूले सहयोग गरेको जानकारी गराउनुभयाे । यसका साथै आफ्नो पहलमा सङ्घ एवं प्रदेश सरकारबाट नमूना सडक, कृषि, बाटोघाटो, शिक्षण संस्थामा प्रयोगशाला लगायतमा विभिन्न योजना समावेश रहेकाे पनि उल्लेख गर्नुभयाे ।

विकास निर्माणमा यो वा त्यो पार्टी नभनी सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै थापाले प्रदेशसभाको निर्वाचन पछिको १६ महीनामा जनताका अपेक्षा पूरा हुन नसकेकाे जिकीर गर्नुभयाे । पछिल्ला दिनमा नागरिकमा निराशा बढेकाे थापाकाे भनाइ थियाे ।

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम पनि पोखरा १६ को जुम्लेटी क्षेत्रमा सञ्चालन गरिएको छ । संघीय संरचनाको निर्वाचन पछि कास्की २ (ख) मा २२ वटा ठूला तथा मझौला विकास आयोजना छनौट र कार्यान्वयनको चरणमा रहेको सांसद थापाले बताउनुभयाे ।

उहाँका अनुसार सडक, कृषि, आकासे पुल, स्कुल तथा क्याम्पसको पूर्वाधार तथा शैक्षिक गुणस्तर बृद्धी र पर्यटन विकासका योजनाहरुमा काम भैरहेको छ ।

Facebook Comments