बारा र पर्साका हावाहुरी पीडितका सहायता कक्ष सञ्चालन

हावाहुरीका कारण बारा र पर्साका पीडितलाई राहत वितरणका सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । उक्त कक्षबाट बुधबारबाट काम शुरु गरिएको छ । प्रदेश नं. २ सरकारले हावाहुरीका कारण ठूलो जनधनको क्षति पश्चात सहायता कक्षको स्थापना गरेर पीडितलाई राहत दिने काम शुरु गरेको हो ।

आइतबार राति आएको हावाहुरी र असिनापानीका कारण एक हजार ५ सय घुरधुरी पूर्ण रुपले क्षति भएको र झन्डै ५० करोड बढिको क्षति भएको प्रदेश सरकारले जनाएको छ । घटनामा हजारौं घरबार विहिन बनेको र ६ सय बढी घाइते भएका थिए । प्रदेश सरकारले ३ राज्यमन्त्रीको नेतृत्वमा सहायता कक्षको स्थापना गरेको हो ।

उक्त सहायता कक्षको प्रत्यक्ष अगुवाईमा वर्षा सुरु हुनु अगावै प्रि फ्याब घर निर्माण गर्ने, राहत वितरणमा कुनै अनियमितता र लापरवाही नहोस् भन्दै नियमित र पारदर्शी अनुगमन गरिने प्रदेश सरकारले जनाएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले अर्थ, सामाजीक र आन्तरिक तथा कानून मन्त्रालयका राज्यमन्त्रीहरुको नेतृत्वमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, एसपी र स्थानीय जनप्रतिनिधिको नेतृत्वमा सहायता कक्ष सञ्चालन हुनेछन् ।

पीडितहरुका लागि तत्काल अस्थायी निवास बनाउने पनि तयारी सुरु भएको भन्दै खानपान र राहत वितरणको व्यवस्थापन मिलाउने बताइएको छ । हावाहुरी प्रभावित बालबालिकाहरुका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालर्ने गर्ने, बालबालिकालाई ड्रेस, शैक्षिक सामाग्री र खेल सामाग्री उपलब्ध गराइने, नियमित स्वास्थ्यकर्मी परिचालन गर्ने, विद्यालय तथा स्वास्थ्य केन्द्रको पुनर्निर्माण क्रमशः गर्दै जाने लगायतको काम गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

Facebook Comments