दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ शुरु
दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ शुक्रबारदेखि शुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उद्घाटन गर्नुभएको हो । यसअघि पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने भनिएपनि कार्यव्यस्तताका कारण प्रचण्ड सहभागी हुन नसक्नुभएको बताइएको छ ।
आयोजक विष्णुपादुका क्लवले महोत्सव समग्र हेमजा तथा कास्कीकै पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सम्पूर्ण सरोकारवालासँग आग्रह समेत गरेको छ । महोत्सव अवधिभर प्रतिकिलो ३२ रुपैयाँमा आलुको कारोवार गरिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिनुभयो ।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, टर्की बिक्रीवितरण तथा प्रदर्शनी लगायत रहेका छन् ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल रहेका छन् । महोत्सव प्रवेशका लागि रु. ८० को साधारण, रु.५० को विद्यार्थी सहुलियत तथा तिन सयमा महोत्सव अवधिभर स्थानीय पासको व्यवस्था मिलाइएको छ । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

