हेमजा आलु महोत्सव : कृषि स्टलप्रति दर्शकको आकर्षण

विष्णुपादुका क्लवको आयोजनामा भइरहेको दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा कृषि स्टलप्रति दर्शकको आकर्षण बढ्न थालेको छ । आलु महोत्सव कृषि महोत्सव भएको भन्दै दर्शकहरुले कृषि स्टलप्रति विशेष चासो देखाएका हुन् । महोत्सवमा टर्कीको बिक्रीवितरण तथा प्रदर्शनी, कृषि औजार, तरकारी, लप्सी, दुध, रेशम खेती, तरकारी तथा पुष्प नर्सरी लगायतका कृषि स्टलहरु रहेका छन् ।त्यस्तै आलुको ठुलो पहाड पनि निर्माण गरिएको छ ।

प्रतिकेजी ३२ रुपैयाँमा आलुको कारोवार भइरहेको छ । बुधवार आलु किन्दै गरेकी पोखरा–१४, छिनेडाँडाकी माया गुरुङले हेमजाको आलु मिठो हुने र छिटो पाक्ने भएकाले अन्य ठाँउको तुलनामा हेमजामा फलेको आलु राम्रो हुने बताउनुभयाे ।

महोत्सवमा रहेको रेशम विकास कार्यक्रम पोखराको स्टल अगाडि बुधवार भेटिएका चितवन माडीका शिव अधिकारीले महोत्सव कृषकका लागि निकै फाइदाजनक रहेको र आफुले रेशम खेतीबारे विस्तृत रुपमा बुझन् पाएको भन्दै खुसी व्यक्त गर्नुभयाे ।

बजारको तुलनामा कम मूल्यमा महोत्सव स्थलमा कृषि उपज पाइएकै कारण कृषि स्टलप्रति दर्शकको आकर्षण बढेको आयोजक क्लवले जनाएको छ । त्यसका साथै आयोजकले कृषि स्टल निःशुल्क उपलब्ध पनि गराएको अर्थ संकलन उपसमितिका संयोजक मदनबहादुर थापाले जानकारी दिनुभयाे ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।महोत्सवमा बुधवारसम्म कुल १२ लाखको आलुको कारोवार भएको झाँकी तथा खरिदबिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयाे ।
आयोजकका अनुसार बुधवारसम्ममा कुल २५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।

महोत्सवमा बुधवार लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, श्रीराम अधिकारी, नवराज अधिकारी, जीवन दाहाल, तारापति सुवेदी, प्रेमराज अधिकारी, परशुराम अधिकारी, कृष्ण गुरुङ, सरला पाण्डे, सुभद्रा श्रेष्ठ र माया गुरुङ, त्यस्तै हास्यतर्फ उमेश राई(फुलेन्देकी आमा), कन्सर्टतर्फ ब्रोसिस ब्याड तथा रमेश रहस्य ब्याण्डका प्रस्तुतिहरु रहेको मूल आयोजक समितिका महासचिव बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

महोत्सवमा बिहीवार लोकदोहोरीतर्फ प्रजापति पराजुली, राजु परियार, निशा पोखरेल, राजन कार्की, ज्ञानेश्वर सुवेदी, सरिता सारु मगर, गंगा त्रिपाठी, स्वस्तिका तिम्सिना तथा हास्ततर्फ राजा राजेन्द्रको प्रस्तुति रहने जनाइएको छ ।

Facebook Comments