निर्वाचन आयोगका पदाधिकारीले गैरकानुनी रुपमा भत्ता खाए : महालेखापरीक्षकको कार्यालय
महालेखापरीक्षकको कार्यालयले निर्वाचन आयोगका पदाधिकारीले गैरकानुनी रुपमा भत्ता लिएको जनाएको छ । आयोगका पदाधिकारीले निर्वाचनका दौरान विभिन्न शीर्षकमा भत्ता बढाएका थिए ।
तेस्रो चरणको स्थानीय तहको चुनाव, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन अनि राष्ट्रपति र उपराष्ट्रपतिका लागि भएको चुनावको लेखापरीक्षण प्रतिवेदन शुक्रबार राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमो सो कुरा उल्लेख रहेको श्रोतले जनाएको छ । प्रतिवेदनमा पाँचवटै चुनावमा राज्यकोषको दुरुपयोग भएको औँल्याइएको महालेखापरीक्षकको कार्यालय स्रोतले जनाएको छ ।
मतपत्र छपाइ, भत्ता, मतदाता शिक्षालगायतमा आर्थिक अनियमितता देखिएको छ । प्रतिवेदनअनुसार निर्वाचन आयोगका पदाधिकारीले गैरकानुनी रूपमा विभिन्न शीर्षकमा भत्ता बढाएर राज्यकोषबाट एक करोड दुई लाख ७६ हजार ६ सय ३९ रुपैयाँ बढी लिएका छन् ।
महालेखाले ५५औँ प्रतिवेदनमार्फत सचेत गराउँदा–गराउँदै थप एक करोड दुई लाख लिएको प्रतिवेदनमा उल्लेख छ । निर्वाचन आयोगले चुनावमा आवश्यक पर्ने सामग्री किन्दा आवश्यक सङ्ख्याभन्दा ४० प्रतिशत बढीसम्म खरिद गर्ने गरेको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

