५० प्रतिशत निजी आवास पुननिर्माण भइसक्यो : पुननिर्माण प्राधिकरण

बैशाख १२ गते विहीबार नेपालमा ठूलो जनधनको क्षति गरेको गोर्खा भुकम्प गएको ४ बर्ष पुरा हुँदैछ । भुकम्पपछि पुननिर्माणका लागि सरकारले गठन गरेको अधिकारसम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो ।

प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण अन्तरगत निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल भएको जिकीर गरेको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ परिवारमध्ये ६ लाख १२ हजार ९ सय ३५ परिवार पुनर्निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको हो । प्राधिकरणका प्रमुख सुशील ज्ञवालीका अनुसार ५० प्रतिशतले घर पुन निर्माण गरिसकेको छन् ।

३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुनर्निर्माण सकेको, बाँकी ३० प्रतिशत (२ लाख ३० हजार ६ सय ५८) परिवार पुनर्निर्माणका क्रममा रहेको प्राधिकरणले उल्लेख गरेको छ । विद्यालय पुननिर्माणमा ८३ प्रतिशत प्रगति भएको प्राकिरणको भनाइ छ । भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षति भएकोमा ५९ प्रतिशत अर्थात् ४ हजार ४ सय ७६ विद्यालयको पुनर्निर्माण सकिएको र एकहजार ७ सय ७२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको जनाइएको छ ।

प्राधिकरणका अनुसार स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ ६६ प्रतिशत उपलब्धी हासिल भएको छ । जसमा ५४ प्रतिशत (६४३) को पुनर्निर्माण सकिएको छ भने १२ प्रतिशत (१४५) पुनर्निर्माणको क्रममा रहेका छन् । पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माण अन्तरगत २२४ वटा अर्थात् ३० प्रतिशत पुननिर्माण सम्पन्न भएको र २२१ वटा अर्थात् २९ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको छ ।

निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको प्राधिकरणले जानकारी दिएको हो । प्राधिकरणले पुनर्निर्माण र पुर्नस्थापनाको कार्य सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौति वित्तीय व्यवस्थापन देखिएको जनाएको छ ।

पुनर्निर्माण र पुर्नस्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४–०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ । यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिनुभयो । पुनर्निर्माण कार्य सम्पन्न गर्न करीब ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

Facebook Comments