भूपी काव्य पुरस्कारबाट कवि तीर्थ सम्मानित
८३ औं भूपी जयन्तीको अवसरमा कवि तीर्थ श्रेष्ठ सम्मानित हुनुभएको छ । भूपी जयन्तीमा उनका परिवारजनद्वारा स्थापित भूपी काव्य पुरस्कारबाट मंगलबार कवि तीर्थ सम्मानित हुनुभएको हो ।
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित कवि तीर्थलाई काव्य पुरस्कार अर्पण गर्नुभयो । नेपाली साहित्यको क्षेत्रमा विशेषत कविताको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएकोमा कवि श्रेष्ठलाई सम्मान गरिएको हो ।
नेपालका एक होनाहार कविको नाममा स्थापित पुरस्कार अर्का मानक कविलाई सम्मान गर्न पाउँदा खुसी लागेको प्रदेश प्रमुख कुँवरले बताउनुभयो । ‘भूपी नेपाली साहित्यका शक्तिशाली हुन् । उनका कवितामाजस्तो शक्ति अन्य कवितामा विरलै पाइन्छ,’ प्रमुख कुवँरले भन्नुभयोे, ‘बहुआयामिक प्रतिभाका धनी तीर्थलाई यो सम्मानले प्रदान गर्नु पुरस्कार आफैं पुरस्कृत भएको छ ।’
सम्मान थापेपछि कवि तीर्थले भूपीसँगका स्मृति स्मरण गर्नुभयो । भूपीका कविताको शक्तिले नेपाली साहित्य सिञ्चित भएको बताउँदै कवि तीर्थले भने, ‘सानै उमेरमा आमा गुमाएरका भूपीले समाजका विभिन्न आयामलाई कवितामार्फत चुमेका छन् ।’ २०१६ सालमा पोखरामा जन्मेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा क्रियाशील श्रेष्ठको भूपी शेरचनसँग संगत रहेको थियो ।
वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायनले कवि भूपीको सम्झानासँगै कवि तीर्थले नेपाली कवितामा एउटा बिस्फोट गराएको बताउनुभयो । समाजका हरेक क्षेत्रमा क्रियाशील रहेर पनि कवि तीर्थले कविताको उचाईं कसरी चुम्छन् भन्ने जिज्ञासा आफूमा उब्जिने गरेको वात्स्यायनको भनाइ थियो ।
कवि ईश्वरमणि अधिकारीले तीर्थ श्रेष्ठलाई निरन्तरता, प्राज्ञिकता र सक्रियाको विम्वको रुपमा प्रस्तुत गर्नुभयो । सम्मानित कवि तीर्थको परिचय राख्दै अधिकारीले दर्जनौं पुरस्कार, सम्मान र पदक थापिसकेका श्रेष्ठ बढी सिर्जनशीलामा विश्वास गर्ने कवि भएको बताउनुभयो ।
थकाली सेवा समितिले प्रत्येक २ वर्षमा भूपी जयन्तीका अवसरमा यो काव्य पुरस्कार अर्पण गर्दै आएको छ । समितिका अध्यक्ष शिवशंकर गौचनले नेपाली साहित्यका महान कविको जन्म जयन्तीमा अर्का प्रतिभाशाली कविलाई पुरस्कार अर्पण गर्न पाउँदा आयोजक गौरवान्वित भएको बताउनुभयो ।
गौचनको अध्यक्षतामा भएको पुरस्कार अर्पण समारोहमा थकाली सेवा समितिका सचिव इन्जिनियर रुजिन्द्र तुलाचनले स्वागत गर्दै भूपीका कविता र उनको जीवनबारे जानकारी गराउनुभएको थियो ।
थकाली सेवा समिति अध्यक्ष शिवशंकरको संयोकत्वमा कार्टुनिस्ट दुर्गा बराल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, समितिका सचिव रुजिन्द्र र पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली सदस्य रहेको प्रतिभा छनोट समितिले श्रेष्ठलाई यसपालिको पुरस्कार अर्पण गर्ने निर्णय गरेको थियो ।
भूपी जयन्तीको अवसरमा भएको पुरस्कार अर्पण समारोहमा भूपीका ५ कविता र उनको गीतसमेत प्रस्तुत भयो । कवि प्रकाश घिमिरे, रीता अधिकारी, सुरेश रानाभाट, प्रकाश ज्ञवाली र बालिका अभिलासीले भूपीका कविता सुनाएका थिए । कवि तीर्थका तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट महाभारतका गीतहरु मुक्तक संग्रह र मेरै हिमालजस्तो गीत संग्रह प्रकाशित छन् ।

