पोखरामा सडक महोत्सव जारी, दिनमा दोहोरी र साँझमा कन्सर्टको मजा लिन सकिने

पोखरामा रेवान पोखराको आयोजनामा संचालित सडक महोत्सव जारी रहेको छ । सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका साथ पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषा जगेर्ना गर्दै आन्तरिक एवम् बाह्य पर्यटक प्रबद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले आयोजीत महोत्सव पुस १७ गतेसम्म चल्नेछ ।

लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रलाई दुलही झै सिंगारीएको छ । अँग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आयोजित महोत्सव अवधिभर लेकसाइड क्षेत्रका १ सय बढी रेष्टुरेण्ट तथा बारहरुले सडकमै उतारेर सडकबाट सेवा दिने गर्दछन् ।

महोत्सव अवधिमा लेकसाइडका होटलहरु भरिभराउ रहने गर्दछन् । नयाँ बर्ष मनाउन पोखरेलीका साथै गण्डकी प्रदेशका गोर्खा, लमजुङ, तनहुँ, पर्वत, स्याङ्जा, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाबाट आन्तरिक पर्यटकहरु आउने गर्दछन् । महोत्सवमा झण्डै १ अर्व भन्दा बढीको बढीको कारोबार हुने अनुमान आयोजकको रहेको छ ।

महोत्सवका प्रमुख आकर्षणहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको सांगीतिक कार्यक्रम, नेपालका लोपन्मुख साँस्कृतीक कार्यक्रम, अन्र्तराष्ट्रिय स्तरका विभिन्न खानाका परिकार, मनोरन्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शन लगायतका कार्यक्रम रहेका छन् ।

जनजातिहरुको साँस्कृतिक कार्यक्रमहरु, विभिन्न जिल्लाहरुका कला, सँस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीहरुको प्रदर्शन, लोकदोहोरी गीत प्रतियोगिता, ख्यातिप्राप्त पप ब्याण्डहरुको प्रस्तुति, बालउद्यान, विभिन्न पिङ, जादुगरलगायत पनि महोत्सवका आकर्षण रहेको आयोजक रेवान पोखराले जनाएको छ ।

आयोजकका अनुसार आइतबार लोकगायकहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, कुमार पुन, राजन कार्की, जीवन दाहाल, शिवहरी ढुंगाना, प्रीती आले, लक्ष्मी नेपालीको लोक दोहोरी तथा शिवहरि बैरागी, दमन रुपाखेती लगायतको हास्य प्रहसन रहने छ । यसका साथै पञ्चेबाजा पनि विशेष आर्कषण रहनेछ ।

Facebook Comments