पोखरा सडक महोत्सवमा दर्शकको चाप बढ्दै

रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा दर्शको चाप बढेको छ । महोत्सव तेश्रो दिन आइपुग्दा सडकमा अवलोकनकर्ताहरुको निकै भिड लागेको हो । त्यसैगरि महोत्सवको मुख्य स्थल कोमागानेपार्क पनि खचाखच दर्शकले भरिएको थियो । आइतबार तमुहरुको पर्व ल्होसरको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएका कारण पनि ल्होसर मनाइसकेकाहरु त्यसपछि सडक महोत्सव अवलोकनका लागि पुगेका हुन् ।

महोत्सवमा आइतबार प्रजापति पराजुली, प्रिति आले, जीवन दाहाल, राजन कार्की, प्रेमराज अधिकारी, शिवहरी ढुंगाना र लक्ष्मी नेपालीको लोकदोहोरी प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिलाएको थियो भने भद्रगोलका जिग्री र पाँडेले दर्शकहरुलाई पेट मिचि मिचि हाँस्न बाध्य बनाए ।

सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका साथ जारी २० औ पोखरा सडक महोत्सवमा आइतबार रेवानमा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत वेटरहरुविच दौड प्रतियोगिता सम्पन्न भयो । यसअघि शनिबार सम्पन्न डुँगा दौडमा स्विमिङपुल घाट ए प्रथम, बाराही घाट द्धितिय तथा फेवा घाट तृतीय भए । बोट रेसमा प्रथमले नगद १५ हजार, द्धितियले नगद ८ हजार तथा तृतीयले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

रस्साकसीमा होलिग्यान्स नेपाल टिम प्रथम, गौरीघाट टिम द्धितिय भए । प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार तथा द्धितियले नगद १० हजार प्राप्त गरे । विजयी खेलाडीहरुलाई रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, सदस्य विश्वराज पौडेल, टान उपाध्यक्ष सुसिल पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । खेलकुद उपसमिति संयोजक विकास भट्टराईका अनुसार महोत्सवमा सोमबार टुरिष्ट रेस, स्टाफ रेस लगायतका प्रतिस्पर्धाहरु रहेका छन् ।

लेकसाइडको तीन किलोमिटर क्षेत्रभित्रको विभिन्न स्थानहरुमा पनि साँगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम भएका छन् । त्यसैगरि सडक महोत्सवको अवसर पारि विभिन्न रेष्टुरेण्टहरुले पनि आ–आफ्नैं कार्यक्रमहरु गरेका छन् ।

Facebook Comments