बंगलादेश निर्वाचनः शेख हसिनालाई पुनः प्रधानमन्त्री बन्ने नतिजा प्राप्त
बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजे दको पार्टी अवामी लिग अत्यधिक मतका साथ विजयी बनेको छ । सो पार्टीले आइतबार निर्वाचनमा अत्याधिक मतका साथ आफनो राजनीतिक विजयी यात्रालाई निरन्तरता दिन सफल भएको हो ।

शेख हसिनाको पार्टी अवामी लिगले ३०० संसदीय क्षेत्रमध्ये २८१ मा जित दर्ता गरेको बंगलादेशका निर्वाचन आयोगले जनाएको छ । जितसँगै प्रधानमन्त्री हसिनाले पुनः प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको छ ।
तर मुख्य विपक्षी दल बंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणाम अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ । निर्वाचनको पूर्वसन्ध्यामा आफ्ना नेता कार्यकर्तामाथि धरपडक गरिनुका साथै मतदानका दिनमा व्यापक धाँधली भएको सो पार्टीको आरोप रहेको छ ।
बीएनपीका प्रवक्ताले २२१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाउनुभएको छ । मतदान सुरु हुनु भन्दा पहिले नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिस्कार गरेका थिए । मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए ।

