सामुहिक फो ल्होछार २०७५ सम्पन्न

समुदायको भावनामा ठेस पुर्याएर मुलुक समृद्ध बन्न सक्दैनः सांसद तमु

कस्केली तमु संघ संस्थाले सोमवार पोखरामा सामुहिक रुपमा फो ल्होछार/ल्होसार विविध कार्यक्रम गरी धुमधामका साथ मनाएका छन्। पोखरा चिप्लेढुंगाबाट शुभकामना र्याली शुरु भई महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालमा समारोहमा परिणत भई शुभकामना आदान प्रदान, विविध साँस्कृतिक कार्यक्रम, तमुहरुको परम्परागत छेलो प्रतियोगिता सहितका कार्यक्रम गरी ल्होछार÷ल्होसार मनाएका हुन ।

फो ल्होछार/ल्होसार समारोहको दीप प्रज्वलनसहित फो ल्हो अंकित व्यानर सार्वजनिक गर्दै प्रमुख अतिथि प्रदेश नं. ४, प्रदेश सभाका सदस्य मिनप्रसाद तमुले मुलुकको समृद्धिको लागि सबैलाई समेटेर जानुपर्ने बताउनुभयो ।

शुभकामना व्यक्त गर्नुहुदै उहाँले कुनै जाति, वर्ग, क्षेत्र, लिंग, समुदायको भावनामा ठेस पुर्याएर मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । उहाँले तमु समुदायमाथि अझ पनि विभेदको अवस्था रहेको भन्दै सबै पिछडिएका वर्ग समुदायलाई राज्यको मुलधारमा नल्याईसम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो ।

तमुहरुको सभ्यता विकास भएको क्होला सोथरको डिपीआर निर्माणका लागि तयारी भईरहेको जानकारी दिनुहुदै अब तमुहरुले सीप, शिक्षा, ज्ञान अभिवृद्धि र उत्पादन क्षेत्रलाई विशेष जोड दिनुपर्ने सुझाव उहाँको थियो।

बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिका सदस्य सचिव नरेन्द्रकुमार तमुले शुभकामना व्यक्त गर्नुृहुदै तमुहरुको एकता, सबैसँग प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास, तमु जाति मौलिकता, सामाजिक साँस्कृतिक अधिकारका निम्ती जुट्नु पर्ने बताउनुभयो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले मन्तव्य व्यक्त गर्नुृहुदै एकता, पहिचान, अधिकार प्राप्तिका लागि ल्होछार एक दिन भए पनि सामुहिक रुपमा मनाउदै आएको बताउनुभयो। तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद प्रदेश संयोजक दलबहादुर तमुले तमुहरुको एकता विना कुनै अधिकार प्राप्ति नहुने बताउनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म तमु, आदिवासी जनजाति संघका प्रदेश संयोजक जितबहादुर तमु, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, तमु धिं नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमु, गुरुङ पर्यटन व्यवसायी संघ पश्चिमाञ्चल अध्यक्ष बोबरजंग तमु, सँस्कृतिकर्मी कृष्णकुमार तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता, सचेतता, सिर्जनशीलता, शिक्षामा जोड र उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभएको थियो।

शुभकामना र्याली सहित आयोजित झाँकी प्रतियोगितामा चिउली पार्चे तमु समाज पोखरा प्रथम हुदै २० हजार, नौलो सम्झना तमु समाज दोश्रो हुदै १५ हजार र बगर तमु समाज तेश्रो हुदै १० हजार रुपैयासहित पुरस्कृत भएको थियो। प्रथम पुरस्कार गुरुङ पर्यटन व्यवसायी संघ, तेश्रो पुरस्कार तमु कलाकार संघ कास्कीले प्रायोजन गरेको थियो।

यसरी नै तमु जातिको परम्परागत छेलो प्रतियोगितामा प्रथम हुने तालबेसी तमु समाजका भासु तमुलाई २५ हजार र उपविजेता कोल्माबहाकोट तमु समाजका श्रीप्रसाद तमुलाई १० हजार नगदसहित फेटा, खादा र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।

प्रथम पुरस्कार मादी गाँउपालिकाका अध्यक्ष बेदबहादुर तमु श्यामले आफ्नो बाबा टेकसाईको स्मृतिमा प्रायोजन गर्नुभएको थियो भने दोश्रो पुरस्कार सफल व्यवसायी, तमु धिं नेपालका केन्द्रीय सदस्य नारायण तमुले आफ्ना पिता चन्द्रबहादुर तमुको स्मृतिमा प्रायोजन गर्नुभएको थियो।

उक्त कार्यक्रममा लोकदोहोरी गायक सुरेन्द्र तमु, गायिका दुर्गा तमु गीत प्रस्तुत गर्दै सहभागीहरुलाई मनोरञ्जनका साथ नचाएका थिए। यसरी हिमाली साँस्कृतिक परिवार, स्टार्स स्टुडियो, बगर तमु समाज लगायतबाट विविध नृत्य प्रस्तुत गरेको थियो।

सामुहिक फो ल्होछार/ल्होसार आयोजक समितिका संयोजक क्या.भुवनसिं तमुको अध्यक्षतामा भएको कार्यक्रममा सचिव आसबहादुर तमुले कार्यक्रम संचालन गर्नुभयो । यसैवीच यस सुखवती बौद्ध गुम्बामा सामुहिक फो ल्होछार मनाउने क्रममा श्रद्देय लामा गुरुहरुले पुस १५ गते विहान ७ बजेदेखि नै गुम्बा लोप्सम पुजा गरि मानव जातिहरुको नराम्रा ग्रहदशा काट्ने पूजा गरि अन्त्यमा समापन गरेको छ ।

त्यसपछि उक्त कार्यक्रममा लामा गुरुहरु ले ग्रह काट्ने पूजामा विभिन्न खालका मुकुट लगाई ग्रह काट्ने नृत्य प्रस्तुत गरिएको थियो । पुजाको अन्त्यमा तमु समाजका विभिन्न नृत्य प्रस्तुत गरि बगर तमु प्रथम, नदिपुर द्वितिय, भिमकाली तृतिय, सिम्पानी र जोगिमणि समाजले सान्त्वना पुरस्कार पाउन सफल भएका थिए ।

Facebook Comments