सुनसरी घटनाः प्रेम, सम्मान एवं सामाजिक सदभाव कायम राख्न प्रधानमन्त्रीकाे अपिल
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुनसरीमा भएकाे पछिल्लाे घटनाप्रति संयम हुन अपिल गर्नुभएकाे छ । मंगलबार राती सामाजिक सञ्जालमा सन्देश राख्दै प्रधानमन्त्री शाहले एक अर्काप्रति प्रेम, सम्मान एवं सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएकाे हाे ।
प्रधानमन्त्रीले मन दुख्नु सामान्य कुरा नभएकाे उल्लेख गर्दै सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा नागरिककाे ज्यान गुम्ने अवस्था सिर्जना भएकाे बताउनुभएकाे छ ।
समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्था सिर्जना भएकाे भन्दै प्रधानमन्त्रीले मानवता बोकेको समाजमा कसैकाे पनि यस्ताे चाहना नहुने समेत उल्लेख गर्नुभएकाे छ ।
प्रधानमन्त्री शाहले प्रधानमन्त्रीकारूपमा मात्र होइन, यहि देशका नागरिककारूपमा पनि आफू सुनसरीमा भएका घटनाक्रमबाट दुखी रहेकाे बताउनुभएकाे छ ।
उहाँले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । उहाँले फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने दृढता व्यक्त गर्नुभएकाे छ ।
‘मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ ।’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएकाे छ ।

