यौन दुर्व्यवहारकाे गम्भीर आरोप लागेपछि महराद्वारा सभामुख पदबाट राजीनामा

यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले उपसभामुख मार्फत् राजीनामा दिनुभएकाे छ ।

महराले आफ्नाे चरित्रसँग जाेडिएर सञ्चारमाध्यममा आएका आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान सहज जोस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको उल्लेख गर्नुभएकाे छ ।

महराले उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरिए पनि कानुनविदले भने सभामुख पद रिक्त हुने बताउनुभएकाे छ ।

महराका प्रेस सल्लाहकार डिल्ली मल्लले महराको राजीनामा शर्तसहितको भएको र सबै कपोलकल्पित र भ्रामक आरोपहरुबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुने जिकीर गर्नुभएकाे छ ।

सभामुखबाट राजीनामा दिएपछि महराकाे सांसद पद के हुने भन्ने प्रश्न उब्जिएकाे छ ।

महरालाइ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन सुझाव दिएकाे थियाे ।

Facebook Comments