आहा रारा गोल्ड कपः थ्रि स्टार र नेपाल आर्मी उपाधि चुम्ने दाउमा
सहारा क्लब पोखराद्वारा आयोजित १७ औं आहा रारा गोल्ड कपको शनिबार हुने फाइनल खेलमा उपाधि होडका लागि रुस्लान थ्रि स्टार क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् । नेपाली फुटबलका दुई हस्ती क्लबहरु रुस्लान थ्रि स्टार र त्रिभुबन आर्मी क्लबवीचको खेल रोमाञ्चक हुँदैछ ।
फाइनल खेलको पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा यो फाइनल खेल रोमाञ्चक हुने बताइएको छ । पोखरा रंगशालामा यस अघि पाँचौ, नवौं, ११ औं र १३ औं आहा राराको उपाधि विजेता र १६ औं को उपविजेता रहेको थ्रि स्टार र सातौ, आठौं र १४ औं को उपविजेता रहेको नेपाल आर्मीको भिडन्त रोमाञ्चक अनुमान गरिएको छ ।
माछापुच्छ्रे हिमालको पृष्ठभूमीमा फेवातालमा माछाले बललाई चुमेर खेल्दै गरेको ऐतिहासक आहा रारा गोल्डकप उचालेर इतिहास रच्ने दाउमा त्रिभुवन आर्मी क्लव रहेको छ । १७ औं संस्करण सम्म आइपुग्दा यो कप उचाल्ने सबै भन्दा वढी मनाङ मस्र्याङदी क्लब नै हो ।
थ्रि स्टारले पनि ४ पटक उपाधि जितिसकेको छ भने आर्मी तिन पटक उपाधिनजिक पुगेपनि विजेता बन्न भने सकेको छैन । शुक्रबार भएको प्रि म्याच कन्फ्रेन्सममा थ्रि स्टारका प्रशिक्षक मेघराज केसीले चिर परिचित टिम नेपाल आर्मी संगको फाइनल भिडन्त उत्कृष्ट हुने बताउनुभयो । विदेशबाट आएको टोली त्यति राम्रो नरहेको बताउनुभयो । विदेशी भन्दैमा जस्तो टिमलाई ल्याउनुमा आयोजकको कमजोरी रहेको उहाँको भनाई थियो ।
प्रशिक्षक केसीले दाउफिन्स फुटबल टिम नभएको र फाइट गर्न मैदान छिरेको टिप्पणी गर्नुभयो । आफ्ना राम्रा पक्षलाई अझै राम्रो गर्ने उहाँको भनाई थियो । नेपाल आर्मीका प्रशिक्षक नबिन न्यौपाने समेत फाइनल जितेर इतिहास रच्ने दाउमा रहेको बताउनुभयो । पोखरामा कुनै पनि प्रतियोगिताको कप उचाल्न नसकेकाले यसपटक प्राप्त अवसरलाई उपयोग गरि इतिहास रच्ने लक्षका साथ खेल्ने न्यौपानेको भनाई थियो ।
थ्रि स्टारका कप्तान बिक्रम लामाले नेपाल आर्मीमा राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडीहरु रहेको हुनाले पनि यो फाइनल खेल धेरै उत्कृष्ट हुने बताउनुभयो । नेपाल आर्मीका कप्तान भरत खवासले पनि टिम लाई उपाधी जिताउने प्रयासका साथ खेल्ने बताउनुभयो । थ्रि स्टारले शसस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल आर्मीले क्यामरुनको दाउफिन्स क्लबलाई सेमीफाइनलमा पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।

