वाइडबडी जहाज खरिदमा दिवंगत पर्यटनमन्त्री अधिकारी निर्दोष : प्रधानमन्त्रीे

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी विमान खरिद प्रक्रियामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री दिवंगत रवीन्द्र अधिकारी निर्दोष रहेको बताउनुभएको छ । आज बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारी निर्दोष रहेको भन्दै केहीले बदनाम गर्न लागिपरेको बताउनुभयो ।

‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न । अत्यन्तै अनुचित ढङ्गले उहाँको कुनै सरोकार नभएको विषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले बद्नाम गर्न खोजे, जो सम्पूर्ण रूपमा निराधार कुरा हो ।’ प्रधानमन्त्री ओलीले नेपालमा हल्लै हल्ला हुने गरेको बताउँदै सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने प्रवृति र धन्दा पनि चलिरहेको उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीले नागरिक उड्ययन क्षेत्रमा देखिने गरी असाधारण काम गर्नुभएको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । उहाँले छ वटा विमास्थलमा रात्री उडान सञ्चालन गर्ने, धनगढी, वीराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि बढाउने कुरा अधिकारीकै सक्रियतामा भएको उल्लेख गर्नुभयो ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर मन्त्री अधिकारी त्यसतर्फ जानु भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । ढिलोमा तीन वर्ष भित्र सो ठाउँमा विमानस्थल निर्माण गरिसक्ने मन्त्री अधिकारीको लक्ष्य पुरा गर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो ।

अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एक जना हस्ती भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उपसचिव युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट बिष्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ ।

निधन भएका अन्य व्यक्तिहरू प्नि आआफ्नो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ छ । नेकपा संसदीय दलको आजको बैठकले दुर्घटनामा निधन भएकाहरूप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकले मृतकका परिवारको लालनपालनका लागि सरकारको ध्यानाकर्षण गराउने निणर्यय समेत गरेको छ ।

Facebook Comments