दिवंगत पर्यटनमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टी
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ ।

पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा हुँदै रामघाटमा शवयात्रा सहित लगेर अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अघिकारीको श्रद्धाञ्जली तथा शवयात्रामा हजारौं शुभेच्छुकहरु सहभागी भएका थिए ।

कास्की जिल्लाका मात्र नभई छिमेकी जिल्लाबाट समेत शुभेच्छुकहरु श्रद्धाञ्जली सभामा सरिक भएका थिए । सहभागीहरुले अधिकारी मिजासिलो र केही गरौं भन्ने युवा नेता भएको प्रतिक्रिया जनाएका थिए । अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका थिए । अधिकारीको काजकिरिया पोखरा मालेपाटनस्थित घरमा हुने र ७ दिनमा सक्ने पारिवारीक श्रोतले जनाएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल सरकारका तर्फबाट उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र बामदेव गौतम सहभागी हुनुभएको थियो । पोखरेलले नेपालको राष्ट्रिय झण्डा ओढाउनुभएको थियो भने श्रेष्ठ र गौतमले कम्युनिष्ट पार्टीको झण्डा ओढाई श्रद्धा सुमन व्यक्त गर्नुभएको थियो । नेपाली सेना तथा नेपाल प्रहरीको टुकडीले रामघाट स्थित शव दाहस्थलमा सलामी अर्पण र सम्मान गारत अर्पण गरेको थियो ।


