चितवनकाे साैराहामा भवन निर्माणमा नयाँ मापदण्ड लागू गरिने

चितवनकाे साैराहामा जताभावी भवन निर्माण गरेपछि साैन्दर्य विग्रने भन्दै नयाँ मापदण्ड लागू गर्ने तयारी गर्छन् ।

पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको रत्ननगर नगरपालिकाले जनाएकाे छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग छलफल शुरु गरिएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार साढे दुई तलाभन्दा अग्लो भवन बनाउन रोकिने, प्रकृतिसँग मिल्ने एकै खालका रङ लगाउनुपर्ने, भवनहरुमा नेपाली शैली झल्कनुपर्ने, होटल रिसोर्टका लागि जमीनको न्यूनतम क्षेत्रफल तोकिनेछ ।

नीति बनाउनुअघि होटल र रेष्टुराँ व्यवसायीसँग नगरपालिकाले छलफल थालेको हो । वृहतरूपमा छलफल गरेर यसलाई अन्तिम रूप दिने वनको धारणा छ ।

नगरपालिका आफैँले मात्र नीति बनाउँदा कार्यान्वयनमा कठिनाइ हुने हुँदा निजी क्षेत्रको सहमतिमा नै काम गर्न लागिएको वनको भनाइ छ ।

सो क्षेत्रमा अग्ला भवन बनाउन अध्ययन गर्न आएकाहरुलाई आफूले अग्ला भवन बनाउन नपाउने मौखिक जानकारी दिन शुरु गरेको नगरपालिकाले जनाएकाे छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव राममणि खनालले स्थानीय सरकारले नीति बनाएर काम अघि बढाउनुपर्ने बताउनुभयाे ।

सौराहामा पछिल्लो समय कङ्क्रिटका ठूला भवन बन्न थालेका छन् । यस्ता कङ्क्रिटका भवनले सो क्षेत्रको प्राकृतिक सौन्दर्यता लोप हुने चिन्ता व्यवसायीमा रहेको छ ।

क्षेत्रीय होटल सङ्घले सौराहाको वृहत गुरुयोजनासमेत निर्माण गरिरहेको छ । सौराहामा मात्र ११० होटल र ८० रेष्टुराँ छन् । सो क्षेत्रमा मानव बस्तीसमेत छ ।

Facebook Comments