माछापुच्छ्रे ३ घाचाेकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना
सोलिडारिटी फर फ्रान्स नेपाल अन्तर्गत त्यहाँका विद्यार्थीहरुको सहयोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गरिएको छ ।
ज्येष्ठ नागरिकहरु भेला हुने र दुःख सुखका अनुभूतिहरु साटासाट गर्न सहयोग पु¥याउने उद्धेश्यले माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा केन्द्रको स्थापना गरिएको हो ।
गएको ६ जुलाईमा नेपाल आएका फ्रान्सको पेरिसस्थित इएससीपी कलेजका छ जना युवा विद्यार्थीहरुको समूह स्थानीयसँग सहकार्य गर्दै २५ दिन लगाएर सेवा केन्द्र भवन तयार गरेका थिए ।
आमा स्मृति प्रतिष्ठान नेपालको समन्वयमा उनीहरु निर्माण काममा लागेका हुन् । प्रतिष्ठानका अध्यक्ष बसन्तराज दवाडीले स्वयमसेवक विद्यार्थीहरुले रातको एक बजेसम्म पनि निरन्तर काम गरेर भवन, शौचालय लगायतका पूर्वाधार निर्माण गरेको जानकारी दिनुभयाे ।
विद्यार्थीहरुले रु तीन लाख ८० हजार नगद र रु दुई लाख बराबरको श्रमदान गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष दवाडीका अनुसार विद्यार्थीहरु बाहेक प्रतिष्ठान, गाउँपालिका तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना समेतको लगानीमा रु आठ लाख खर्च गरेर भवन निर्माण गरिएको हाे ।
भवनमा ५० जना बृद्धबृद्धाहरुका लागि टेलिभिजन, आराम तथा मनोरञ्जनका सामग्रीहरु राखिएको छ ।
स्थानीय ज्येष्ठ नागरिक तोयनाथ शर्मा लम्सालले विगतमा गाउँघरमा भएका चौतारीहरु अहिले मासिइसकेको बताउँदै दुःख सुःखका अनुभूति साटासाट गर्ने र दिन कटाउनका लागि सेवा केन्द्र निर्माणभएपछि आफूहरु खुःशी भएको बताउनुभयाे ।
सेवा केन्द्र वडा कार्यायललाई बिहीबार हस्तान्तरण गर्दैै गण्डकी प्रदेश सभाका सदस्य रामजीप्रसाद बरालले ज्येष्ठ नागरिकहरु राज्यका अमूल्य सम्पत्ति भएको चर्चा गर्दै उनीहरुका सीप, अनुभव र ज्ञानलाई राज्यले संरक्षण गर्नुपर्ने भनाई राख्नुभयाे ।
सांसद बरालले सेवा केन्द्रलाई व्यवस्थित बनाउने सन्दर्भमा आवश्यक अन्य व्यवस्था गर्नका लागि आफ्नो तर्फबाट सक्दो पहल रहने समेत स्पष्ट पार्नुभयाे ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीले सबै वडामा ज्येष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयाे ।
वडाध्यक्ष सूर्यप्रसाद लम्सालले ज्येष्ठ नागरिकको अधिकार तथा उनीहरुको सुविधाका लागि वडाले काम गर्ने बताउनुभयाे ।

