कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि अन्नपूर्णको लुम्लेमा महायज्ञ जारी
कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ शनिवारदेखि सुरु श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ जारी रहेको छ । महायज्ञ यहि असोज १९ गतेसम्म चल्नेछ ।
आइतवार भागवत वाचन गर्दै कथा शिरोमणि पं. दिपकप्रसाद पौडेलले मानिस विचार र कर्मले असल हुनुपर्ने बताउनुभयाे ।
महायज्ञमा आइतवार सबैभन्दा धेरै लुम्ले घुम्ती निवासी मनबहादुर गुरुङले नगद रु.१ लाख पाँच हजार पाँच सय ५५ दान गरेका छन् ।
त्यस्तै जागृति आमा समूहबाट १७ हजार ७ सय ७७, माझखोला निवासी टुकनाथ देवकोटाले रु.१५ हजार १ सय ५५, पुच्छरघर निवासी खुसीमान् गुरुङले रु.१५ हजार १ सय ५० लगायत अन्य थुपै दानवीरबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ।
यस पटकको दशैँका लागि घटस्थापनाको दिन पारेर आइतवार लुम्लेवासीले महायज्ञ स्थलमा सामुहिक जमरा पनि राखेका छन् ।त्यस्तै सामुहिक टिका लगाउने योजना पनि उनीहरुले बनाएका छन्।यज्ञबाट रु.५० लाख दान संकलन गर्ने लक्ष्य राखिएको छ।
यज्ञमा सामुहिक पितृ तर्पण, हवन, अन्नदान, भुमिदान, तुलादान, धान्याञ्चल, ब्राम्हण भोजन, विवाह, व्रतबन्ध, गुन्युचोली, नवग्रहपुजा, चौरासी पुजा सहित पितृको तस्विर राखी आरती अर्पण गर्दै दान गर्न पनि सकिने आयोजकले जनाएको छ ।
आइतवार यज्ञमा मूल आयोजक समितिका अध्यक्ष भरत देवकोटा, महासचिव दिनेशकुमार जिसी, वडाध्यक्ष चित्रबहादुर गुरुङ लगायतले पनि धारणा राखेका थिए ।

