छठ हर्षाेल्लासका साथ मनाइँदै
तराइका जिल्लाहरूमा नदी, तलाउ, पोखरीहरुमा बिहानैदेखि छठ पुजा गर्नेहरूकाे भीड लागेको छ । अस्ताउँदाे सूर्यलाई अर्घदिनका लागि ऐतिहासिक गंगा सागर, धनुष सागर, अंगराज सर लगायतका पोखरीमा घुइचो लागेको छ।
तराई मधेशमा अहिले आस्थाको पर्वको रुपमा मानिने छठको रौनकताले विभिन्न तलाउहरु दुलहीझैँ सजाइएको छ ।
शुक्रबार साँझ खरना समाप्त भएपछि रातिको १२ बजेदेखि नै पोखरीको घाटमा अर्घलग्न थालिएको हो ।
मिथिलाको नदी, तलाउ, पोखरीमा यति बेला ठूलो भीड बढेको छ । ब्रतालुहरू अर्घलाई सुरक्षित साथ राखेर चोखो भएर पूजा पाठ गरिरहेका छन् ।
मुख्यतः जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर, भूतही लगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाइएको छ ।
आइतबार विहान छठ विसर्जन गर्ने गरिन्छ । छठकाे वर्त सकिने दिनमा मिष्ठान भाेजन खाने र रमाइलाे गर्ने प्रचलन रहेकाे छ ।
जनकपुरमा पनि छठपूजाका लागि बनाइएका घटघाटहरुमा शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । त्यसका लागि घठघाटहरु दूलहीझैँ सिँगारिएको छ ।
कात्तिक मासको शुक्ल चतुर्थीेको दिनबाट सुरु हुने छठ पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यसपर्वमा सूर्यदेवको उपासना गरिन्छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि नै रहँदै आएको मानिन्छ । यसपर्व गरिब, धनी तथा जातीय विभेद नगरी एक साथ एकै ठाउँमा मिलेर मनाइने हुँदा समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन पनि सहायक सिद्ध हुने गरेको संस्कृतिविद्काे भनाइ छ ।
छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही रातीमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ ।
त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ ।
नेपालकाे प्रदेश नं. २ मा बस्ने मधेसी समुदाय र भारतमा समेत छठ पर्व विशेष महत्वका साथ मनाउने गरिन्छ ।

