कार्यकर्ताले प्रत्यक्ष नेता चुन्ने व्यवस्था गर्नुपर्छ : संयोजक भट्टराई
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले वर्तमान राजनीति फोहोर भएको भन्दै त्यसलाई सफा गरेर नयाँ राजनीतिक वातावरण बनाउने बताउनुभएको छ । जनसंवाद यात्राका क्रममा भोजपुरको पौवादुङमा आयोजित कार्यक्रममा उहाँले पुराना काँग्रेस, एमाले, माओवादी लगायतका पार्टीले राजनीतिक परिवर्तनका खेलेका भूमिकाप्रति धन्यवाद दिदैं अव नयाँ ढंगले राजनीति अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पार्टीभित्र केही नेताले आफ्ना आसेपासेलाई लिएर हिड्ने, उनैलाई टिकट दिने र आफ्ना अन्धभक्त उत्पादन गर्ने प्रवृत्तिले मुलुक अगाडि बढ्न नसकेको उहाँको भनाई थियो । साथै उहाँले आफ्नो पार्टीले त्यस्तो प्रवृत्तिको अन्त्य गरी कार्यकर्ताले प्रत्यक्ष नेता चुन्ने र नेताले केही गल्ती गरेमा पुनः फिर्ता गर्न सक्ने खालको प्रावधान सहितको लोकतान्त्रिक पार्टी बनाउन खोजेको स्पष्ट पार्नुभयो ।

भ्रष्टाचारकै दलदलमा मुलुक फसेको भन्दै देशको विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने नेता भट्टराईको भनाई रहेको थियो । हिजो केही नभएका नेताहरु रातारात अरवौंको भौतिक सम्पत्तिका मालिक भएका त्यो कसरी सम्भव भयो भन्दै उहाँले भ्रष्टाचार विना त्यो सम्भव नहुने जिकीर गर्नुभयो । मध्यपहाडी लोकमार्गलाई उहाँले नेपालको जीवननलीको संज्ञा दिनुभयो । नयाँशक्ति पार्टीले पुर्व पश्चिम लोकमार्गमा गत माग १५ गतेबाट जनसंवाद यात्रा शुरु गरेको छ ।

