मेरो विरुद्ध कुप्रचार भयो : नेता गौतम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफूविरुद्ध कुप्रचार गरिएको भन्दै सामाजिक सञ्जाल मार्फत् असन्तुष्टी व्यक्त गर्नुभएको छ । फेसबुकमा शनिबार स्टाटस लेख्दै गौतमले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्कीमा चुनाव लड्न लागेको भन्दै आफूविरूद्ध कुप्रचार गरिएको उल्लेख गर्नुभएको छ ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पार्टीले निर्णय गरेर नै नेता गौतम र प्रवक्ता नारायणकजी श्रेष्ठलाई पोखरा पठाएको थियो । सोही अनुसार नेता गौतम शुक्रबार अधिकारीको अन्तिम श्रद्धाञ्जली एवं शवको अन्त्येष्टीमा सहभागी हुनुभएको थियो ।
आफ्नो उक्त सहभागितालाई रवीन्द्रको निर्वाचन क्षेत्रबाट उठ्न खोजेको भन्दै प्रचार गरिएकोप्रति उहाँले असन्तुष्टी जनाउनुभएको हो । साथै उहाँले आफू अधिकारीको निर्वाचन क्षेत्रमा उम्मेदवार नबन्ने पनि स्पष्ट पार्नुभएको छ । गौतमले लेख्नुभएको छ, ‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेराविरूद्ध सुरू भयो । नेपाली राजनीतिक आकाशमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महशुस गर्दै श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ ।’
साथै गौतमले शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने मान्यता नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो इच्छा विपरीत पार्टीले निर्णय गरे पनि रवीन्द्रको दुःखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने स्पष्ट पार्नुभएको छ ।
मन्त्री तथा प्रतिनिधि सभा सांसद अधिकारीको निधनपछि खाली रहेको कास्की क्षेत्र २ बाट रवीन्द्रकै परिवारका सदस्यलाई उपनिर्वाचनमा उम्मेदवार बनाउनुपर्ने धारणा समेत नेता गौतमले व्यक्त गर्नुभएको छ ।


