विकासले गति लिन नसक्नुमा राजनीतिक नेतृत्व दोषी : डा. सूर्यराज आचार्य
पूर्वाधार विज्ञ एवं विवेकशील साझाका नेता डा. सूर्यराज आचार्यले राज्य संचालनमा नेतृत्व क्षमता अभाव भएकै कारण नेपालमा विकासले गति लिन नसकेको टिप्पणी गर्नुभएको छ । यूथ थिंकर्स सोसाइटी पोखरा च्याप्टरले महिनैपिच्छे गर्दै आएको विशेष कार्यक्रम ‘पोखरा बोल्छ’ को सेसनमा बोल्दै आचार्यले राजनीतिक नेतृत्वमा ईच्छाशक्ति भएमा विकासले गति लिने बताउनुभयो ।
राजनीतिक नेतृत्वमा रहेका नेताहरु काम गर्नुको साटो सपना मात्रै बाँड्दै हिँड्ने गरेको उहाँको भनाई थियो । विवेकशीलका प्रवक्ता समेत रहनुभएका आचार्यले नेपालमा विकासका पूर्वाधार सम्बन्धि खासै छलफल नै नभएको बताउनुभयो ।
त्यसैमाथि भैरहेका विकास निर्माणमा काममा पनि बाह्य चासोले झन् बढि गिजोलेको उनको बुझाई छ । ‘फिल्डमा काम भैरहँदा पनि एनजिओ र आइएनजिओहरुको अनावश्यक चासो र स्वार्थले विकासको गति ढिमा भैरहेको यथार्थ छ ।’
आचार्यले भन्नुभयो–‘विकासको गतिलाई साँच्चिकै अगाडि बढाउन राजनीतिक नेतृत्वको ईच्छाशक्तिलाई बढाएर बाह्य प्रभावलाई न्यूनिकरण गर्नेतर्फ लाग्नुपर्छ ।’ पोखरामै अर्को अन्तरक्रिया कार्यक्रममा आचार्यले विद्यालयमा ‘सामाजिक शिक्षा नेपालीमै अध्यापन गराउनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक पूर्वाधार नै कमजोर भएका कारण नेपालको सबै क्षेत्रमा समस्या आएको बताउनुभयो ।

