बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरूकाे उपचार सरकारले गर्ने

सरकारले बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरूकाे यथाेचित उपचार गर्ने निर्णय गरेकाे छ । बारा र पर्सामा असिना पानीसहितको हुरीमा परी ६१३ जना घाइते भएका थिए । उनीहरूकाे स्थानीय अस्पतालहरूमा उपचार भइरहेकाे छ । उनीहरूकाे सबैको यथोचित उपचार गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयाे ।

घाइते भई अपाङ्गता तथा अशक्त हुने तथा मृतकका परिवारका सदस्यलाई सरकारले नै उचित व्यवस्थापन गर्ने पनि उहाँले जानकारी दिनुभयाे । उक्त घटनामा परेर हालसम्म २७ जनाको मृत्यु भइसकेकाे छ । धेरै घरहरू तथा पशुचाैपायामा समेत ठूलोमात्रामा क्षति भएको छ।

ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अपर्ण गर्दै सरकारले शोक प्रकट गर्ने निर्णय गरेको छ। बैठकले प्रभावित शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधिसहितको स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने तथा विपद् प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्ने निर्णय भएकाे उहाँले जानकारी दिनुभयाे ।

बैठकले यस दुःखद् परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अङ्ग, स्थानीय तह, निजी क्षेत्र, सामाजिक संस्था एवं गैर सरकारी संस्थालाई समन्वयात्मकरुपमा परिचालन गरी विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र बसोबासको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयको समन्वयमा उक्त क्षेत्रमा भएको क्षतिको विवरण यथाशीघ्र तयार गरी मूल्याङ्कन गर्ने र तथ्य विवरणसहितको परिस्थिति स्पष्ट भइसकेपछि पुनःस्थापना तथा पुनःनिर्माणलगायतका आवश्यक विषयका सम्बन्धमा आवश्यक निर्णय गर्ने मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

घटनालगत्तै हेरविचार गर्ने, उद्धार गर्ने, अस्पताल तथा स्वास्थ्य संस्था पुर्याउन सहयोग गर्ने, शल्यक्रियालगायत आवश्यक उपचारमा संलग्न हुने, सुरक्षा दिने, समाचार दिने लगायतका कार्यमा स्वतःस्फूर्त तत्कालै परिचालित भई प्राकृतिक विपद्मा तदारुकताका साथ मानवीय उद्धारमा संलग्न भई सेवा पुर्याउने सबै तह र तप्काप्रति सरकारले हार्दिक धन्यवाद प्रकट गरेको छ। 

यसअघि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुले साेमबार नै प्रभावित क्षेत्र र घटनाको प्रत्यक्ष निरीक्षण र अवलोकन गर्नुभएकाे थियाे । प्रधानमन्त्री सहितकाे टाेलीले अस्पतालमा पुगे उपचाररत घाइतेहरूलाइ समेत भेट गरी स्वास्थ्य अवस्था बारे जानकरी लिनुभएकाे थियाे ।

Facebook Comments