बारा र पर्सामा हावा हुरीमा ज्यान गुमाउने मृतकका परिवारलाई नेकपाले ५ लाख दिने
बारा र पर्सामा हावा हुरीमा ज्यान गुमाउने मृतकका परिवारलाई नेकपाले ५ लाख दिने
नेपाल कम्युनिस्ट पार्टी नेकपाले बारा र पर्सामा हावाहुरीमा परी मृत्यु भएका परिवारलाई रु ५ लाख दिने भएको छ । मंगलबार हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणका साथै पीडित परिवारलाई भेटघाट गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट प्रति परिवार ५ लाखका दरले राहत प्रदान गर्ने घोषणा गर्नुभयो ।
सरकारले क्षति भएका घरहरु बनाउने निर्णय गरेको पनि उहाँले जानकारी गराउनुभयो । घाइतेहरुको निशुल्क उपचार गराउने निर्णय सरकारले गरेको र क्षति भएका पशु चौपया तथा कृषिजन्य उत्पादनको उचित राहतका विषयमा पनि छलफल गर्ने उहाँको भनाई थियो ।

पहाड र हिमालमा बस्ने नेपालीले समेत आँधि हुरी प्रभावितलाई सहयोग गर्न जुटिसकेको प्रचण्डले उल्लेख गर्नुभयो । मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । नेकपा अध्यक्ष प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुसँग पनि भेटघाट गर्नुभयो ।

त्यसपछि फेटा–६ बरैनियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी र सरकारका तर्फबाट हावाहुरी प्रभावितलाई सहयोग हुने बताउनुभयो । आइतबार बारा र पर्सामा हावाहुरीका कारण २७ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।


