तरकारी खेतीमा ढुसीजन्य रोग नियन्त्रणका लागि ट्राइकोडर्मा उपयुक्त (भिडियाे)

राज शर्मा /घनश्याम पाण्डे

पछिल्लो समयमा विषादि प्रयोग गरिएका खाद्यबस्तु चिन्ताको विषय बनिरहेको छ । हरेक दिन भान्छामा विषादि प्रयोग भएका तरकारी तथा अन्य उपभोग्य बस्तु खपत भइरहेको छ । व्यावसायिक हिसावले मुनाफा आर्जन गर्न उत्पादनकर्ताले विषादिको उपयोग गर्ने गर्दछन् ।

प्रयोग गरिने विषादिको पनि सहि तरिकाले प्रयोग गरिएमा त्यसबाट हुने हानी नोक्सानी कम हुन्थ्यो तर त्यसो हुन नसक्दा मानव स्वास्थ्यका साथै वातावरण संरक्षणमा पनि चुनौति थपिइरहेको छ । कृषिलाई व्यवसायिक बनाउने सन्दर्भमा कृषक समूह र सहकारीहरुको महत्वपूर्ण भूमिका रहेको छ । विषादि प्रयोगलाई न्युनीकरण गर्ने तथा प्रयोग गर्दा अपनाउनुपर्ने विधिका बारेमा आइपिएम पाठशाला मार्फत् कृषकलाई सचेत बनाउने कार्य पनि जारी रहेको छ ।

तनहुँ जिल्लाको आँबु खैरेनी गाउँपालिका वडा नं. १ मा रहेको मिलुजुली कृषि उत्पादक सहकारी संस्थाले पनि जैविक विषादिको उत्पादन तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सहकारीले बरादी, एक्लेफाँट, मार्कीचोक, सत्रसय फाँटमा व्यवसायिक कृषिमा संलग्न कृषकहरुलाई एकीकृत गरेको छ । किसानले उत्पादन गर्ने तरकारी तथा फलफुल, पशुजन्य उत्पादनको बजारीकरणको समस्या समाधानका लागि सहकारीले भूमिका खेलेको छ ।

जस्ले गर्दा कृषकहरुको जीविकोपार्जन सहज भएको छ । सहकारीले हाल कृषि उपज संकलन, कृषक सहायता केन्द्र, कृषि सूचना केन्द्र संचालन गरिरहेको छ । सहकारीका अध्यक्ष ईश्वर वावु गौलीका अनुसार सहकारीले कृषि विज्ञ र कृषकहरुवीच छलफल अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ । जसले गर्दा कृषकले नयाँ नयाँ विषय सिक्ने अवसर प्राप्त गरेका छन् ।

गौलीका अनुसार कृषिमा भित्रिएका नविनत्तम प्रविधि, विषादिको प्रयोगका तरिका लगायतमा यस्ता छलफल र अन्तरक्रिया उपयोगी हुने गरेका छन् । मिलीजुली सहकारीले नेपाल सरकारको सहयोग ट्राइकोडर्मा अर्थात् ढुसी नामक जैविक विषादीको उत्पादन एवं विक्री वितरण गर्दै आएको छ ।

ट्राइकोडर्माकाे उत्पादन एवं प्रयोग नेपालमा पनि बढ्दो मात्रामा रहेको छ । तरकारी तथा फलफूलमा लाग्ने रोगमध्ये ९१ प्रतिशतजति ढुसीजन्य रोग हुने कृषि विज्ञ धनबहादुर रानको भनाई छ । ट्राइकोडर्मा ढुसीको प्रयोगले ढुसी जन्य प्रकोपबाट बोटविरुवा तथा तरकारीबालीलाई संरक्षण गर्न सकिन्छ भने यो विषादि जैविक भएकाले माटोको उर्वराशक्तिको पनि संरक्षण हुने गर्दछन् ।

रानाका अनुसार ट्राइकोडर्माको प्रयोगले विरुवामा रोगसँग प्रतिकार गर्ने क्षमता बृद्धि हुनुकासाथै अफ्टेरो परिस्थिति सहन गर्ने क्षमताको विकास, जरा र विरुवाको सहज बृद्धि, पोषक तत्वको घुलनशीलता अभिबृद्धि गर्ने, विषादीले विगारेको माटोलाई पूर्नजागरण गर्न मद्धत पुग्छ । ट्राइकोडर्माको प्रयोगले ढुसीजन्य रोग निर्मुल नै भएको कृषक हेमेन्द्र केसीको अनुभव रहेको छ ।

उहाँले सहकारीमा आवद्ध भई व्यवसायिक रुपमा नर्सरी मार्फत् वेर्ना उत्पादन तथा तरकारी खेती गर्दै आउनुभएको छ भने विदेशमा आफूले गरेको मेहनतको तुलनमा तरकारी खेतीबाटै सन्तुष्ट रहेको उहाँको भनाई रहेको छ । त्यस्तै विगतमा शिक्षण पेशामा संलग्न सोलबहादुर चितौरेमगरले पनि व्यावसायिक कृषिबाट नै बार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

सोलबहादुर र होमेन्द्र जस्तै तनहुँको आवु खैरेनी गाउँपालिका वडा नंं १ र २ आसपासका कृषकले मिलीजुली सहकारीले उत्पादन गरेको ट्राइकोडर्माको उपायोग गर्दै आएका छन् । ट्राइकोडर्माले कृषि उत्पादनमा कुनै हानी नगर्ने, माटोको उर्वरा शक्तिलाई बृद्धि गर्ने हुँदा यसको प्रयोगमा कृषकले ध्यान दिनु उपयुक्त हुन्छ । यसले वातावरणीय स्वच्छताका साथै ताजा एवं विषादिरहित कृषिजन्य उत्पादन उपभोगमा मद्दत पुग्ने विज्ञहरु बताउँछन् ।

फाेटाे /भिडियाे विश्वराज सुवेदी

Facebook Comments