शिक्षा नीतिमा व्यापक सुधार आवश्यक : नेकपा अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिक्षा नीतिमा व्यापक सुधारको खाँचो औल्याउँनुभएको छ । बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधारको खाँचो औल्याउनुभएको हो ।

परिषद्को बैठक विगतको निरन्तरता मात्र नभई राजनीतिक प्रणालीमा भएको व्यापक परिवर्तनपछिको बैठक भएकाले गुणात्मक ढंगले फड्को मार्ने ढंगले निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले उच्च शिक्षा हाँसिल गरेको जनशक्ति झन् बढी विदेश पलायन हुने अवस्था रहेकाले त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।

उहाँले देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढेको र देशभित्र श्रमशक्ति नहुँदा देशको समृद्धिमै असर पुगिरहेको बताउनुभयो । युवा जनशक्ति विदेसिनुमा शिक्षा नीतिकै त्रुटी रहेको प्रचण्डको ठहर रहेको छ ।

व्यवसायिक शिक्षामा प्राविधिक शिक्षामा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षालाई विद्यालयदेखि विश्वविद्यालयसम्म ध्यान दिनुपर्ने प्रचण्डको भनाई थियो । उहाँले समतामूलक समाज निर्माणमा केन्द्रित भएर याेजना तय गर्न परिषद्लाइ अनुराेध गर्नुभयाे ।

Facebook Comments