कस्ले छाड्यो फिलिपिन्सको विमानस्थलमा १५ सय जीवित कुछवा
फिलिपिन्सको राजधानी मनिलास्थित विमानस्थलमा टेपमा बेरिएका एक हजार पाँच सयको संख्यामा जीवित कुछुवा फेला परेको छ । प्रहरीले निनोइ अक्विनो अन्तर्रा्ष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा चारओटा बेवारिसे झोलामा विभिन्न प्रजातिका १ हजार ५ सय २९ ओटा कछुवाहरू फेला पारेको जनाएको छ । कस्ले ती कछुवा विमानस्थलमा छाडेको भन्नेबारे थाहा हुन सकेको छैन् । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
वन्यजन्तुको गैरकानुनी कारोबार गर्ने तस्करले कडा सजायको डरले ती कछुवा राखिएको झोला त्यतिकै छाडेर भागेको प्रहरीले अनुमान गरेको छ । ती मध्ये केही लोपोन्मुख प्रजातिका रहेको बताइएको छ । कछुवा ल्याउने व्यक्तिलाई दुई वर्षको जेल सजाय र दुई लाख फिलिपिनो पेसो जरिवानाको कानुनी प्रावधान रहेको छ ।
ती कछुवाहरू हङकङबाट आएका एकजना फिलिपिनो यात्रीले छाडेर गएको भन्सार अधिकारीहरुले जानकारी दिएका छन् । फेलापरेका कछुवाहरूलाई फिलिपिन्सको वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तान्तरण गरिएको छ । ती कछुवा बजारमा बिक्री गरिए करिब ८७ हजार अमेरिकी डलर पर्ने बताइएको छ ।

