लायन्सको महाधिवेशन बैशाख १३ र १४ गते पाेखरामा हुने

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशन पोखरामा हुने भएको छ । आगामी वैशाख १३ र १४ गते पोखरामा महाधिवेशन आयोजना गरिएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

लायन्स क्लब अफ पोखरा गण्डकीको संयोजनमा महिला मात्रै सदस्य रहेका पोखरा क्षेत्रका २६ वटा क्लबहरुको आयोजनामा महाधिवेशन हुने महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा डिष्ट्रिक्टका डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठले जानकारी दिनुभयो । महाधिवेशनमा ३ हजार भन्दा बढी लायन्स लिडर तथा सदस्यहरुको रजिष्टेसन हुने अपेक्षा आयोजकले गरेको छ ।

‘पर्यटकीय नगरी पोखरामा लायन्सको महाधिवेशन हुँदैछ,’ श्रेष्ठले भन्नुभयो ‘देशभरबाट लायन्स सदस्यहरु पोखरा आउने हुँदा महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने विश्वास लिएका छौं ।’ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा महाधिवेशन हुनेछ ।

महाधिवेशनलाई व्यवस्थित बनाउनका लागि तयारी तिब्र बनाइएको सहसंयोजक मीलन थापाले जानकारी दिनुभयो । ‘पोखरा महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाउनेछौं,’ उनले भनिन्, ‘महाधिवेशन सफल पार्न सम्पूर्णको साथ र सहयोगको अपेक्षा गरेका छौं ।’

पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले महिला क्लबहरुको व्यवस्थापनमा हुने महाधिवेशन ऐतिहासिक हुनेमा आफू विश्वस्त रहेको बताए । डिष्ट्रिक्टको अबको नेतृत्व महिलाले नै लिने सन्दर्भमा महिलाहरुकै आयोजनामा महाधिवेशन सम्पन्न हुनु गौरवको विषय भएको श्रेष्ठले धारणा राखे । महाधिवेशन लायन्सका लागि मात्रै नभइ पोखरा क्षेत्रकै लागि गौरव गर्न लायक हुने उनले बताउनु भयो ।

महाधिवेशन सफल पार्न विभिन्न २६ वटा विभिन्न उपसमितिहरु बनाइएको मूल आयोजक समितिका सचिव तथा रिजन चियरपर्सन विधाता श्रेष्ठ द्वाले जानकारी दिनुभयो । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको महाधिवेशन आयोजक समितिका कोषाध्यक्ष तथा जोन चियरपर्सन विन्दुु श्रेष्ठले बताउनुभयो ।

महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस गभर्नर पदमा मन रोकाको उम्मेदवारी छ । उहाँहरु दुवैले ‘एस’मत लिनुपर्नेछ । सेकेण्ड भाइस गभर्नर पदमा भने दुई पक्षबीच तिब्र प्रतिस्पर्धा हुनेछ । ध्रुवबहादुर श्रेष्ठ र विशेश्वर आचार्य सेकेण्ड भाइस गभर्नर पदको लागि चुनावी अभियानमा हुनुहुन्छ । विमला श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सञ्चालन विधाता श्रेष्ठ द्वाले गर्नुभएको थियो ।

Facebook Comments