पोखरामा प्रमोद खरेलको तयारी तीव्र, नेपाल टेलिकमले मुख्य प्रायोजन गर्ने
‘पोखरामा प्रमोद खरेल’ कार्यक्रमको तयारी तीव्र पारिएको छ । यही चैत २२ गते पोखरा सभागृहमा हुने विशेष साँगीतिक कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’का लागि यतिबेला आयोजक र व्यवस्थापक कम्पनीले तयारीलाई तिव्र पारिरहेको छ । इभेन्टलाई सफल बनाउन थुप्रै व्यवसायिक संस्थानहरुले पनि यो इभेन्टलाई सघाएका छन् ।
कार्यक्रमको टाइटल स्पोन्सरमा नेपाल टेलिकमले गर्ने भएको छ । सडक बालबालिकाको सहयोगार्थ हुने कार्यक्रमको टाइटल स्पोन्सरका लागि बुधबार आयोजक एभिन्यू ग्रुप अफ कमर्श र नेपाल टेलिकमबीच सहमती भएको हो ।
सम्झौतापछि नेपाल टेलिकमका पोखरा वितरण केन्द्र प्रमुख महेन्द्र रिमालले देशकै गहना गायक प्रमोद खरेलको ऐतिहासिक कार्यक्रममा टेलिकम जोडिनु निकै खुशीको कुरा भएको उल्लेख गर्नुभयो । आयोजक संस्था एभिन्यू ग्रुप अफ कमर्शका कार्यकारी अधिकृत प्रदिप अधिकारीले नेपाल टेलिकमसँग कार्यक्रमका लागि सहमतीपत्रमा हस्ताक्षर गरेका थिए ।
त्यस्तै यो कार्यक्रमको सहप्रायोजकको रुपमा ह्वाइट पर्ल रिक्रुटमेन्ट सर्भिसेज प्रालिले सहकार्य गरेको छ । कार्यक्रमको प्रभावकारिता र सामाजिक उद्देश्यले गर्दा नै व्यवसायिक सहकार्य गरेको प्रालिका प्रबन्ध निर्देशक सबिन भट्टले जानकारी दिनुभयो ।
ह्वाइट पर्ल रिक्रुटमेन्ट सर्भिसेज प्रालिसंग कार्यक्रमको ब्यवस्थापक कम्पनी बार्दली मिडियाका प्रबन्ध निर्देशक मन क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि क्षेत्रीले साँगीतिक कार्यक्रम पोखरामा प्रमोद खरेलसंग जोडिएकोमा ह्वाइट पर्ललाई धन्यवाद दिनुभयो ।
यसअघि यो इभेन्टका लागि प्रोमोटेड बाइ टाइटलमा टार्गेट इन्टरनेशनल एजुकेशन, होटल पार्टनरमा द कल्चर रिसोर्ट, रेस्टुरेन्ट पार्टनरमा बाजेको सेकुवा, प्रायोजकको रुपमा हङकङ ब्यूटी इन्स्टिच्युट प्रालि लगाएत कम्पनीहरुले व्यवसायिक साझेदारी गरिसकेका छन् ।

