वैदेशिक सहायता निश्चित अवधिका लागि मात्र :अर्थमन्त्री डा.खतिवडा
अर्थमन्त्री डा.युवराज खतिवडाले वैदेसिक सहायता निश्चित अवधिसम्मका लागि मात्र उपयोग गरिने बताउनुभएको छ । अनिश्चित कालसम्म वैदेसिक अनुदान या ऋण प्रयोग गर्ने अवस्थाको अन्तय हुनुपर्ने उहाँको भनाई रहेको छ ।
राष्ट्रिय विकास परिषद्को बैठक समापनको अवसरमा बोल्दै उहाँले ५ बर्षे योजनाको तुलनामा २५ बर्षे योजनालाई गतिशील बनाउनुपर्ने बताउनुभयो । २५ बर्षको निकै लामो समय भएकाले विज्ञान प्रविधि, सूचना प्रविधि र अन्तर्राष्ट्रिय विकास क्रमले गर्दा वीच वीचमा पनि परिमार्जन गर्नुपर्ने बताउनुभयो । योजना कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको एकताबद्ध प्रयासले मात्र प्रतिफल हाँसिल हुने उहाँको भनाई थियो ।
योजनाको कार्यान्वयनको चरणमा प्रवेश गर्दा सबैको समन्वयात्मक भूमिका हुनुपर्ने
अर्थमन्त्री खतिवडालेको भनाई छ । श्रोत व्यवस्थापनका लागि ३ तहका सरकारले आन्तरिक श्रोत साधनको परिचालन गर्न सक्ने उहाँको भनाई थियाे ।
विकासका शुरुका चरणमा बचत हुन नसक्ने तर आर्थिक बृद्धि ९ प्रतिशतको हाराहारी हुँदा २० प्रतिशतभन्दा धेरै आन्तरिक बचत हुने भन्दै उहाँले आन्तरिक बचत बढाउने तर्फ जोड दिनुपर्ने बताउनुभयो । नीजि क्षेत्रलाई पनि सरकारले सँगै अगाडि बढ्ने उहाँको भनाई थियो । व्यवसायिक क्षेत्रमा सरकारले हात नहाल्ने डा.खतिवडाको भनाई रहेको छ ।
उहाँले निश्चित समयपछि विदेशी सहायता लिनु नपर्ने गरी कार्य गर्ने बताउनुभयाे । डा.खतिवडाले वैदेशिक अनुदान र विदेशी ऋण सहायताले मात्र मुलुकको समृद्धि र आत्मनिर्भरता सम्भव नहुने भएकाले निश्चित समयपछि त्यो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

