समृद्धिमा न्याय मिसाएपछि समाजवाद : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्माओलीले समृद्धिमा न्याय मिसिएपछि समाजवाद आउने बताउनुभएको छ । समाजवादमा सम्पूर्ण जनताको जीवनस्तर परिवर्तन हुने प्रधानमन्त्रीको भनाई थियो । राष्ट्रिय परिषद् बैठक समापनका अवसरमा उहाँले बैठकका सहभागीहरुले राखेका सुझावलाइ समेट्ने बताउनुभयो । परिषद् बैठक र मन्त्री परिषद्ले आवश्यक सुझावलाई ग्रहण गरेर मात्र पारित गर्ने उहाँको भनाई थियो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘यो नियमित मात्र नभई परिवर्तित र विशेष परिस्थितिमा देशको पहिचान र परिचय नै बदल्ने योजना तय गर्नका लागि भएको बैठक हो । यसले आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटलाई समेत परिषद् बैठकले तय गरेको मार्ग अनुरुप बढाउन सकिनेछ ।’
रुपान्तरित अवस्थाको पहिलो योजनाको रुपमा यसलाई लिनुपर्ने सुझाव मनासीव नै छ, संख्यामात्र ठूलो कुरा होइन तर परिवर्तन सन्दर्भलाई विशेष जोड दिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो । यस योजनाले मुलुकको परिचय नै बदल्ने प्रधानमन्त्री ओलीको विश्वास व्यक्त गर्नुभयो । पूर्वाधार, सामाजिक विकास, शिक्षा स्वास्थ्य लगायतमा सरकारले व्यापक सुधार गर्ने प्रधानमन्त्रीको भनाई रहेको थियो ।
पञ्चबर्षीय योजना समापनको अवधिमा मुलुकको राष्ट्रिय उत्पादनको ५० प्रतिशतले बृद्धि हुनुपर्ने बताउनुभयो । समाजवादोन्मुख विश्वका व्यवस्था र प्रणालीमध्ये सर्वाेत्कृष्ट आर्थिक, राजनीतिक, सामाजिक न्याय र समानता, सामाजिक विकास, न्याय र जागरण, मानव विकास सुचाकांक, वातावरणीय सन्तुलन, साँस्कृतिक चेतना लगायतका हर हिसावले समृद्धिमा न्याय मिसाएपछि समाजवाद हुने प्रधानमन्त्रीको भनाई थियो ।
समृद्धिसँग सामाजिक न्याय र समानता उपलब्ध भएमा समाजवाद हाँसिल हुने प्रधानमन्त्रीको भनाई थियो । उहाँले अगाडि भन्नुभयो, ‘सम्पूर्ण जनताको जीवनमा परिवर्तन ल्याउने सर्वोत्कृष्ट प्रणाली नै समाजवाद हो । हामी यही शताब्धिभित्र उत्कृष्ट समाजवाद ल्याउन चाहन्छौं ।’

