पोखराको पृथ्वीचोकमा यात्रुका झोला तान्ने चलन हट्यो
पोखरा पृथ्वीचोक झर्ने वित्तिकै जो कोही यात्रुले सामना गर्नुपर्ने प्रश्न हो तपाईंलाई होटल चाहिन्छ ? हामीसँग राम्रो होटल छ भनेर उनीहरुले आफ्नो होटलमा जान आग्रह गर्ने गर्दछन् ।
कतिपयले अलिक सोझा सिदा देखेमा जर्वजस्ती झोला तानेर लाने, सुविधाबारे प्रलोभन देखाउने तर होटलमा भनिएका सुविधा नहुने अवस्था रहेको छ ।
अबभने पोखरा पृथ्वीचोक झर्नेवित्तिकै यात्रुहरुले यस्तो झन्झटबाट मुक्ति पाउने भएका छन् । अर्थात साउनबाट पोखराका कुनै पनि स्थानमा होटलका प्रतिनिधिहरु नराख्न होटल व्यवसायी र प्रहरीवीच सहमति भएको छ ।

तर अव यो चलन हटेको छ । कास्कीमा प्रहरी प्रमुख भएर आएपछि दानबहादुर कार्कीले झोला तान्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको थियो ।
लेकसाइड र पोखरा पृथ्वीचोक आसपासका होटल व्यवसायीहरु समेतको समन्वयमा अवदेखि पृथ्वीचोकमा होटलका प्रतिनिधिहरु पृथ्वीचोकमा नबस्ने भएका छन् ।
यसअघि जस्तो पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले झोला तान्ने अवस्थाबाट मुक्ति पाउनेछन् । उनीहरुले आफूले चाहेको होटलमा सोधेर जानसक्ने अवस्था रहेको छ ।
कतिपय यात्रु आफ्नै घर वा आफन्तकोमा जाने वा पोखराबाट अन्यस्थानमा जाने यात्रुले समेत बेकारमा प्रश्नोत्तरको झमेलाबाट मुक्ति पाउनेछन् ।
ट्याक्सीमा भने यात्रुहरुले झोला तानेर लैजाने प्रवृत्ति कायमै छ । मिटरमा जान नमान्ने ट्याक्सीले छोटो दुरीमा समेत बढी शुल्क लिने गरेका छन् ।

