नवनियुक्त प्रदेश प्रमुखहरूकाे पद तथा गोपनीयताको शपथ सम्पन्न
सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराइएकाे हाे ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा लगायत उच्च पदस्थ सरकारी अधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सातै प्रदेश प्रमुखलाई बर्खास्त गरी साेमबार नयाँ प्रदेश प्रमुखकाे नियुक्ति गरेकाे थियाे ।
सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त गरिएकाे हाे ।
यसअघि सरकार कामचलाउ रहेकाे अवस्थामा तत्कालीन प्रतिपक्षी दलहरूसँगकाे असहमतिमै तत्कालनी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति गर्नुभएकाे थियाे ।
नयाँ सरकार गठन भएपछि हटाइदिने चेतावनी तत्कालीन एमाले नेतृत्वले दिएकाे थियाे । तर वर्तमान सरकार गठन भएकाे करिव २ वर्षपछि मात्र उनीहरूलाइ पदमुक्त गरिएकाे हाे ।

