दिवंगत रविन्द्र भरोसायोग्य नेता
दिवगंत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको श्रद्धाञ्जलीसभा उहाँकै निवास पोखरा मालेपाटनमा सम्पन्न भएको छ । श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश र पार्टी संगठनका तर्फबाट रविन्द्र अधिकारीको परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले ०४६ सालको आन्दोलनमा रवीन्द्र अधिकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले रविन्द्र भरोसायोग्य, विद्यार्थीहरुवीच लोकप्रिय विद्यार्थी नेताको रुपमा रहेको विषयमा आफूहरुवीच छलफल हुने गरेको स्मरण गर्नुभयो ।
पार्टी उच्च नेतृत्वले रवीन्द्र अधिकारीलाई एउटा भरोसायोग्य नेताका रुपमा हेर्ने गरेको उहाँको भनाई थियो । प्नतिनिधिसभाका सांसद एवं नेकपाका गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले उर्जाशील एवं गतिशील जीवन आफ्नो पुस्ता र अघिल्लो पुस्ता एवं पछिल्ला पुस्तालाई समेत प्रेरित गर्ने व्यक्तित्व अधिकारीलाई गुमाउनुपर्दा धेरै पीडा भएको उल्लेख गर्नुभयो ।
पुराना नेता भरतमोहन अधिकारीलाइ पनि यही समयमा गुमाउनुपरेको छ । यस क्षणमा कल्पना नगरेको घटना घट्न गयो । आशा, भरोसा र विश्वासका केन्द्र दिवंगत रविन्द्र अधिकारीले शुरु गरेका विकास र पर्यटन प्रबद्र्धन, संगठन निर्माण र परिचालन, राजनीतिमा उच्च संस्कार निर्माण गर्नेतर्फ लाग्नुपर्ने उहाँको भनाई छ ।

नेकपाका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे उत्तमले हरेक चुनौतिका क्षणहरुलाई कसरी सामना गर्ने भन्ने विषय रविन्द्र अधिकारीबाट सिक्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको पर्यटन क्षेत्र, यसै क्षेत्रको जनप्रतिनिधि र पर्यटन मन्त्री नै गुमाउँदा गहिरो अभाव खड्केको पाण्डेको भनाई थियो । समग्र मुलुकको पर्यटन क्षेत्रको विकासका लागि अधिकारीले बनाएका योजना कार्यान्वयन गर्ने जिम्मेबारी पुरा गर्नुपर्ने बताउनुभयो ।
श्रद्धाञ्जली सभामा नेकपाकाका नेता कार्यकर्ताका साथै विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता स्थानीय जनसमुदायको सहभागिता रहेको थियो । अधिकारीको परिवारले परम्परागत संस्कारलाई छोट्याउनुपर्ने अधिकारीको मान्यता अनुरुप ७ दिनमा अन्तिम संस्कार सकेको तथा पार्टीका तर्फबाट निवासमा नै श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।

