एटिएम मेसिनबाट पानी !
काठमाण्डाै उपत्यकामा एटिएम मेसिनबाट पानी पिउन पाइने भएकाे छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलोपटक वाटर एटिएमको उद्घाटन गरिएको हाे । खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटिएमको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि मन्त्री मगरले एटिएमबाट पानी निकालेर पिउनुभएको थियाे ।

यस्तो प्रविधि नेपालमा पहिलोपटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले जानकारी दिनुभयो । पहिलोपटक शुभारम्भ गरिएको वाटर एटिएम मेसिन काठमाडौं उपत्यकाका २० ठाउँमा जडान गर्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो ।
उद्घाटनपछि बोल्दै मन्त्री बिना मगरले बाटोमा हिंड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटिएम सफल हुने विश्वास व्यक्त गर्नुभयो । जति चाहिने हो, त्यति पानी पिउनका लागि वाटर एटीएम एकदमै उपयोगी हुने मन्त्री मगरको भनाई थियो ।
वाटर एटीएमलाई नेपालीमा पँधेरो नामकरण गरिएको छ । उक्त एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य २ रुपैंयाँ र एक लिटर पानीको मूल्य १० रुपैंयाँ राखिएको छ । उक्त एटीएममा २ रुपैंयाँको क्वाइन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइनेछ ।
बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्राएको हो । वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको छ ।

