पोखरामा खेल पर्यटनको प्रचुर सम्भावना : उपप्रमुख गुरुङ
पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १ ले आयोजना गरेको वडाभित्र रहेका टोल विकास संस्थाहरुवीच आयोजित दोश्रो वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटनको क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उपप्रमुख गुरुङले पोखरामा खेल पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले पोखरा महागनरपालिकाले खेलकुद विकास ऐन पारित गरेको जानकारी दिदै खेलकुदका लागि सम्भब्यता अध्ययन र पूर्वाधार निर्माण गरिने बताउनुभयो । पोखरालाई अन्तराष्ट्रियस्तरमा खेलकुदको माध्यमबाट पहिचान गराउने भन्दै उहाँले खेलकुदले अनुशासित बनाउने र यूवालाई कुलतबाट टाढा राख्ने उल्लेख गर्नुभयो ।
महानगरका प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले खेलकुदको माध्यमबाट पोखरा महानगरको पहिचान बढाउन सकिने भएकाले महानगरले त्यस तर्फ ध्यान दिने बताउनुभयो । वडा नम्वर १ का अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य सहारा प्रधान र अभिमन्यू विक्रम राणा लगायतले बोलेका थिए ।
पूर्व खेलाडी रञ्जितलाई सम्मान
पूर्व खेलाडी आनन्द रञ्जितलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरपालिकाले मंगलबार वडाले आयोजना गरेको वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सम्मान गरिएको हो । फुटबल खेलको विकासमा पुर्याएकाे योगदानको कदर गर्दै वडाले सम्मान गरेको हो ।

उहाँलाई पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नगद १५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभयो । रञ्जितले २०३० सालबाट फुटलब खेल खेल्न सुरु गर्नुभएको थियो ।

