लगानी संरक्षणमा ध्यान दिन होटल व्यवसायीहरुको सरकारसँग आग्रह

होटल क्षेत्रको लगानीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषय नै अहिलेको मुख्य मुद्दा भएको व्यवसायीले बताएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको मंगलबार आयोजित १९ औं अधिवेशन तथा ३८ औं साधरण सभामा बक्ताहरुले होटल क्षेत्रमा बार्षिक अर्बौं रुपैयाँको लगानी थपिंदै गएको तर यसको संरक्षणतर्फ सरकार उदासिन देखिएको व्यवसायीको गुनासो हेको थियो ।

पछिल्लो क्रममा होटलको संख्या बढ्दा होटलको अकुपेन्सी दर भने घट्न पुगेको उनीहरुले भनाई छ । बैंकहरुले कर्जाको ब्याजदर मनोमानी ढंगले बढाएको भन्दै सरकारले यसविरुद्ध तत्काल हस्तक्षेप गर्नुपर्ने व्यवसायीको माग थियो ।

पोखरामा नयाँ विमानस्थल बन्दै गरेको तर पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन राजमार्गको स्तारोन्नती नभएकोप्रति व्यवसायीले सरकरको ध्यानाकर्षण गराएका थिए । कार्यक्रमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटनको विकासका लागि पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिनुभयो । होटलहरुले स्तरीय सेवा दिनेतर्फ ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै उनले साहासिक र खेल पर्यटनको विकासमा काम गर्नुपर्ने बताउनुभयो । पाहुना नै भगवान हुन् अर्थात् अतिथि देवो भवः लाई मुख्य ब्राण्ड नै बनाएर नेपाल अन्तर्राष्ट्रिय रुपमा प्रबद्र्धित हुन सक्ने उहाँको भनाई थियो । प्रदेश सांसद राजिव पहारीले पोखरालाई ग्रिन क्लिन सिटी बनाउनुपर्ने बताउनुभयो ।

पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष एवं पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले होटल व्यवसाय बचाउने दायित्व सरकारको पनि उत्तिकै हुने बताउनुभयो । होटल क्षेत्र सबैभन्दा ठूलो लगानी भएको क्षेत्र रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका नवनियुक्त सदस्य एवं होटल संघ नेपालका सदस्य विप्लव पौडेलले व्यवसायीको संरक्षण र नेपालको प्रबद्र्धन आफ्नो मूल नारा भएको उल्लेख गर्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सडक नबनेसम्म हिमाल हाँसे पनि पर्यटन नआउने बताउनुभयो ।

पर्यटन बसपार्क सम्बन्धि सम्झौता छिटै हुने भन्दै उनले यही बर्ष भित्र पोखराका १० चोकमा ट्राफिक लाइट राखिने जानकारी दिनुभयो । होटल संघ नेपालका कोषाध्यक्ष साजन शाक्यले पोखरा दक्षिण एशियाको पर्यटकीय ढोका बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष विकल तुलाचनको सभापत्विमा भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपिबहादुर भट्टराई, संघका महासचिव गणेशराज पहारी र उपाध्यक्ष लक्ष्मण सुबेदीले लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोर्डका सदस्य पौडेल र टेनिस मार्फत् पर्यटन प्रबद्र्धनमा सहयोग गरेको भन्दै कास्की जिल्ला टेनिस संघका संस्थापक अध्यक्ष विनोद कायस्थलाई सम्मान गरिएको थियो । संघले फेवा संरक्षणमा गरेका कामहरुबारे फेवा वाटरसेड इकोसिष्टम म्यानेजमेण्ट बोर्डका तर्फबाट प्रस्तुती पनि दिइएको थियो ।

Facebook Comments