प्रधानमन्त्री ओली र नेता भट्टराईवीच कथा सवाल जवाफ

प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई वीच कथाकाे माध्यमबाट सवाल जवाफ भएकाे छ ।

प्रधानमन्त्रीले नेता भट्टराई निकट रहेका नेता कार्यकर्तालाइ पार्टी प्रवेश गराउने क्रममा भ्यागुताकाे कथा सुनाएपछि नेता भट्टराईले सामाजिक सञ्जालमा त्यसकाे जवाफ फर्काउनुभएकाे हाे ।

प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री डा .बाबुराम भट्टराई को नाम लिँदै भ्यागुताको कथा जस्तो नहुन सुझाव दिनुभएकाे थियाे । ‘यहाँ कोहीकोही पीएचडीवाला आफूमात्रै हुँ भन्ने पनि छन् । तर त्यस्तो होइन । एउटा भ्यागुतोको बच्चाले एक दिन गाइको बाछो देखेछ । गाइको बाछो उसलाई निकै ठूलो लागेछ । अनि गएर आफ्नो आमासँग भनेछ – आज मैले धेरै ठूलो जनावर देखे,’ ओलीले भने, ‘आफ्नो बच्चाले ठूलो जनावर देखेपछि आमालाई पनि कौतुहलता लागेछ र भुँडी फुलाउँदै जनवारजत्रो हुने प्रयास गर्दागदै भुँडी नै फुटेर मरेको थियो, त्यस्तो नहोस् ।’

याे कथा सुनाएर व्यङ्ग्य गरेकाे थाहा पाएपछि प्रधानमन्त्रीलाइ पनि काकताली परेर प्रधानमन्त्री भएकाे भन्ने आशय सहितकाे कथा मार्फत जवाफ फर्काउनुभएकाे छ ।

भट्टराई ले सामाजिक सञ्जालमा लेख्नुभएकाे कथाः

हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ!त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि?कथा यस्तो छ-निदुली बाहुन साँझमा ससुराली पुगेछन्।

सासू भित्र सेलरोटी पकाउँदै रहिछन्।ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन् !पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् !ज्वाइँले भनेछन्-‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चार ?’ ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन् । गाउँमा धोबीको गधा हराएको रहेछ । धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन्!अब पर्यो फ़साद!भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबैसुतेपछि ज्वाइँले टाप कसेछन्।

भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन् ! के खोज्छस् दृष्टिविहीन,आँखा!ज्वाइँ ससुराली घर फर्केर सुतेछन् !भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन्!अब के चाहियो ? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ । राजाले दरबारमा बोलाएछन् र हराएका हीरा-जवाहरत पत्ता लगाउन भनेछन् । बस्न कोठा दिएछन् !अब पर्यो महाफसाद !भागौं,पहरा छ ! कोठामै बर्बराएछन्-‘रोटी गनीगनी जैसी कहाएँ;धोबीको गधा उखुवारी पाएँ;अब आयो निदूली तेरै काल!’पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ ! उसको नाउँ पनि निदूली रहेछ!उसले रूँदै आएर भनिछ-‘बाजे मेरो ज्यान बचाइदिनोस्, हिरामोती मैले चोरेर फलानो ठाउँमा राखेकी छु ।’ निदूली राजज्योतिषी बनेर धनधान्य भएछन !

अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो ! भन्दै भट्टराईले प्रश्न समेत गर्नुभएकाे छ ।

Facebook Comments