महराबाट गम्भीर गल्तीः नेकपा अध्यक्ष प्रचण्ड
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख कृष्णबहादुर महराबाट नैतिक रूपमा गम्भीर कमजोरी भएको बताउनुभएकाे छ ।
प्रेस संगठन दाङले गरेकाे पत्रकार भेटघाट कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले घटनाबारे थाहा पाएपछि पार्टी नेताहरू र स्वयं आफैंले बुझ्न जाँदा महराले ढाँटेर झनै गल्ती भएकाे उल्लेख गर्नुभयाे ।
कमजाेरी स्वीकार गर्नुकाे साटाे गल्ती ढाकछाेप गर्नेतर्फ लाग्नु उचित नहुने प्रचण्डकाे भनाइ छ ।
महराको गल्ती नैतिक भएकाले यसमा पार्टी र नेतृत्वलाइ जाेड्न नहुने र नेतृत्वले पनि गल्ती गर्नेकाे पक्षपाेषण गर्न नहुने बताउनुभयाे ।
महराको गल्तीबारे अदालतबाट आवश्यक न्यायिक निर्णय हुने भन्दै प्रचण्डले अब महराले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्ने बताउनुभयाे ।
संसद सचिवालयकै एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएकाे छ ।
यसअघि बाँकेमा मंगलबार भएकाे एक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक वृद्धिदर उत्साजनक रहेको बताउनुभएको थियाे ।
उहाँले भन्नुभयो, ‘अहिले देशमा कुनै समस्या छैन । सम्पूर्ण पार्टीहरुको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित छ । नेपालले मात्र होइन अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरुले नेपालको आर्थिक विकासको सम्भावना असाध्यै राम्रो छ भनेका छन् ।’
उहाँले नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि गएको बताउनुहुँदै निकै उत्साह स्थिति रहेको बताउनुभयो । अब सम्पूर्ण रुपले विकास निर्माणमा केन्द्रित हुँदा त्यो आर्थिक वृद्धिदरलाई अझै बढाएर लैजान सकिने उहाँको विश्वास थियो ।

