काँग्रेसले कास्की २ काे उपनिर्वाचनमा खेमराज पौडेललाई उम्मेदवार बनाउने

नेपाली काँग्रेसले कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा खेमराज पौडेललाई उम्मेदवार बनाउने भएकाे छ ।

बुधबार बसेको पार्टी पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि पार्टी नेता रामचन्द्र पाैडेल र कृष्णप्रसाद सिटाैलाले सभापति शेरबहादुर देउवालाई निर्णय गर्न भन्दै बैठक छाडेका थिए ।

यसअघि काँग्रेसकाे कास्की जिल्ला समितिले उम्मेदवारका लागि १६ जनाकाे सूची केन्द्रसमक्ष पठाएकाे थियाे भने केन्द्रमा नेता धनराज गुरूङकाे समेत चर्चा भएकाे थियाे ।

पार्टी सभापति शेरबहादुर देउवाले समेत गुरूङलाई टिकट दिने बचन दिएकाे श्राेतले बताएकाे छ तर पदाधिकारी बैठकमा सहमति हुन नसकेपछि केन्द्रीय सदस्य धनराज गुरुङले कास्कीकै स्थानीय साथीहरूलाइ टिकट दिन पदाधिकारी बैठकमा आग्रह गर्नुभएकाे थियाे ।

उम्मेदवार बन्न लाग्नुभएका पाैडेल काँग्रेस कास्कीका पुराना नेता हुनुहुन्छ ।

काँग्रेसका जिल्ला सभापति कृष्ण केसीले पनि पाैडेल उम्मेदवार बन्ने निश्चित भएकाे जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘उहाँ काँग्रेसका पुराना नेता हुनुहुन्छ । लामो समयदेखि उहाँ काँग्रेसमा निरन्तर रुपमा लागि रहनुभएको छ ।  उहाँको बीपी कोइरालासँग पनि राम्रो सम्पर्क र चिनजान थियो ।’ 

केसीले पौडेललाई सबै एकजुट भएर चुनाव जिताउन लागिपर्ने बताउनुभयाे ।

 ७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् । पाैडेल देउवा निकट रहेकाे बताइन्छ ।

यसअघि उम्मेदवार बन्ने अनुमान गरिएका र यसअघि कास्की २ मा दिवंगत रवीन्द्र अधिकारीसँग पराजित देवराज चालिसेले पनि पाैडेल उम्मेदवार बन्न निश्चित भएपछि जीतका लागि सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्नुभएकाे छ ।

Facebook Comments