निर्माण होला त पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ?

पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका बिषयमा छलफल गरिएको छ । राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले पोखरामा सम्मेलन केन्द्र बनाउन उपयुक्त हुने ठहर गर्दै छलफल शुरु गरेको हो । सम्मेलन केन्द्र बनाउन जग्गा खोजी गरिरहेको सम्मेलन केन्द्र विकास समितिको टोलीले पोखरा महानगरपालिकासँग २ चरणमा छलफल गरिसकेको छ ।

यसअघि समितिको अध्ययन टोलीले पोखराको माछापोखरी, सिलिङ्गे र प्रदर्शनी केन्द्रलाई सम्मेलन केन्द्र निर्माण गर्न सकिने संभावित क्षेत्रका रुपमा लिएको थियो । सम्मेलन केन्द्र विकास समितिले पोखरा महानगरपालिका वडा नं. ९ मा पर्ने प्रदर्शनी केन्द्रलाई बढी प्राथमिकतामा राखेर छलफल अघि सारेको छ । पोखरा महानगरपालिकाले लेखनाथको माछापोखरीमा बनाउन सम्मेलन केन्द्र बनाउन प्रस्ताव गरेको छ ।

समितिले प्रदर्शनी केन्द्र भएको जग्गालाई उपयुक्त भनि महानगरसँग स्वीकृति दिन माग गरेको छ । सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यका अनुसार प्रदर्शनी केन्द्र सबैभन्दा उपयुक्त रहेको छ । ६० रोपनी जग्गा आवश्यक हुने भएपछि प्रदर्शनी केन्द्रमा भने ४५ रोपनी मात्र जग्गा रहेको छ । अमात्यका अनुसार अण्डर ग्राउण्ड पार्किङ र आधुनिक भवन निर्माण गरेमा ४५ रोपनी जग्गा पनि प्रयाप्त हुनेछ ।

तर पोखरा महानगरपालिकाले प्रदर्शनी केन्द्रमा भन्दा अलिक शान्त ठाउँमा सम्मेलन केन्द्र बनाउन सुझाएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रदर्शनी केन्द्र शहरको वीच भागमा रहेकाले उपयुक्त नहुने भन्दै लेखनाथमा रहेको माछापोखरीमा सम्मेलन केन्द्र बनाउन उपयुक्त हुने बताउनुभएको छ ।

मेयर जिसीले माछापोखरीमा २ सय रोपनी भन्दा बढी जमिन सरकारी स्वामित्वमा रहेकाले पछि संरचना थप गर्नुपरेमा पनि उपयुक्त हुने धारणा राख्नुभयो । महानगरपालिकाले प्राथमिकताका आधारमा जग्गा सिफारिस गर्ने बताइएको छ ।

सम्मेलन केन्द्र निर्माणका लागि गण्डकी प्रदेश सरकारले पनि विशेष चासो देखाएको छ । प्रदेश सरकारको पहिलो बैठकबाटै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय गरेर बजेट समेत विनियोजन गरिसकेको छ । आगामी ५ बर्षभित्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने लक्ष्य सरकारको छ ।

Facebook Comments